बैंककमा एनआरएनएको ‘मिलाप’ सम्मेलन : बाटो बिराएका घलेलाई मुल नेतृत्वमै फर्काउन कति सम्भव ?
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) संसारभर छरिएर रहेका नेपालीको एक मात्र साझा संस्था हो। १९ वर्षे लामो इतिहास बोकेको यो संस्था विदेशमा बस्ने लाखौं नेपालीको अभिभावक नै मानिन्छ।
सन् २००३ मा स्थापित यो संस्थाले अहिले विश्वका ८४ देशमा आफ्ना शाखा जन्माइसकेको छ।
तर, संस्था फैलिँदै गर्दा यहाँभित्र विकृती र विसंगति पनि उत्तिकै भित्रिए। नेपालका राजनीतिक दलले आफ्नो स्वार्थका लागि यो संस्थालाई प्रयोग गर्न थाले। यसभित्र पनि नेपालका राजनीतिक पार्टी जस्तै गुट-उपगुटहरू जन्मिए।
१० औं महाधिवेशनसम्म आइपुग्दा यो संस्था नराम्रोसँग गिजोलियो। नेतृत्व हत्याउने दाउमा तीन समूह गुट नै बनाएर उत्रिए। ती समूहलाई नेपालको सरकारदेखि लिएर राजनीतिक पार्टीले मलजल गरे। विवाद बढ्यो, निर्वाचन नै विथोलियो। अनि पुग्यो फुटकै संघारमा। यसमा पार्टीका नेता मात्र नभएर एनआरएनएभित्रकै व्यापारिक नेताको स्वार्थ पनि उत्तिकै थियो।
तर, अन्तिम समयमा राजनीतिक पार्टीका नेताले एनआरएनए फुट्दा आफूहरूलाई के कति फाइदा–बेफाइदा हुन्छ? भनेर हिसाव निकाले। संस्था फुटाउँदा उनीहरूले फाइदा हुने छाँटकाँट देखेनन्, देखे केवल घाटा मात्रै। त्यसपछि पहिला आफू निकटतम नेतृत्वमा ल्याउन कम्मर कसेर लागेका उनै नेताहरु ‘अब मिल्नुपर्छ’, ‘मिल्नु नै अन्तिम विकल्प हो’ भन्दै मिलाउने प्रयासमा जुटे।
नेतृत्वका तीन आकांक्षी थिए, डा.बद्री केसी, कुल आचार्य र रवीना थापा। विवाद र झगडा यसै मिल्नेवाला थिएन, उग्र भइसकेको थियो। नेताहरूले आफैले सल्काएको आगो निभाउन सकेनन्। र, निकाले एउटा जुक्ति– नेतृत्वमा आलोपालो।
नेताहरूले निकालेको ६–६ महिना आलोपालो गर्ने उपायमा यी तीन जना राजी भए, अनि उनीहरुकै रोहवरमा सहमतिपत्रमा हस्ताक्षर ठोके।
पहिला विद्रोह गरेका आचार्य ६ महिने अध्यक्ष बन्न पाउँदा ‘दंग’ भए। संस्थापन पक्षसँग विद्रोह मच्चाउन ‘ब्याक सपोर्ट’ गरेका पूर्व अध्यक्ष डा. शेष घलेसँग एकपटक सल्लाह गर्ने आँट समेत उनले गरेनन्। आफूले भनेअनुसार नभए छुट्टै एनआरएनए बनाउने भनेर संस्थापन पक्षलाई चुनौती दिँदै दरवारमार्गस्थित होटल याक एण्ड यतिमा तामझाम गरिरहेका आचार्य त्यहाँबाट ‘सुटुक्क’ भागे।
यता संकटमा परे घले। जसलाई विश्वासमा सहयोग गरे उनैले साथ छाडे। २ कार्यकाल नेतृत्व गर्दासमेत एनआरएनएमा आफ्नो प्रभावकारी ‘विरासत’ बनाउन नसकेको उनी आफैलाई महसुस भयो। त्यसैले उनी जसरी भएपनि एनआरएनएमा आफ्नो विरासत जमाउनुपर्छ भनेर लागेका थिए। आचार्यलाई उचित पात्र ठान्नुको कारण पनि यही थियाे। घलेमा ‘इगोहर्ट’ थियो। यतिसम्म कि आफूले भनेजस्तो नभए मूल नेतृत्वबाट अलग भएर छुट्टै एनआरएनए बनाउने उनको तयारी थियो। अन्तिममा गरे पनि त्यही।
आफ्नो इगो साँध्न भएपनि उनले याक एण्ड यतिमा महाधिवेशन गरे। अर्थमन्त्रीलाई प्रमुख अतिथि बनाए। कोरियाका विनोद कुँवरको नेतृत्वमा कार्यसमिति बनाइएको घोषणा गरे। यो समूहले अहिले पनि आफूहरु नै आधिकारिक एनआरएनए भएको दावी गर्छ। विधानअनुसार महाधिवेशन गरिएकोले आफूहरु वैधानिक भएको उनीहरुको तर्क छ। तर, यो संस्था दर्ता भएको आधिकारिक निकाय परराष्ट्र मन्त्रालयले भने बहुपदीय नेतृत्वमा रहेका कार्यसमितिलाई वैधानिकता दिएको छ।
परराष्ट्रबाट आधिकारिता पाएको संस्थापन पक्षले एनआरएनए फुटेको भन्ने मान्न तयार छैन। संस्थापन पक्षको दावीअनुसार संघमा अहिले कुनै विवाद छैन। एकजुट भएर काम भइरहेको तर्क गरिन्छ।
घलेले बनाएको कार्यसमितिलाई संस्थापन पक्षले ‘अवैधानिक’ भन्दै वास्ता नगरेको पाइन्छ। तर, कतिपय गैरआवासीय नेपालीलाई एनआरएनए फुटेकै हो भन्ने लागेको छ। विवादलाई समाधान गरेर मिल्नु पर्ने आवाज उठिरहेको छ।
‘जसले जे भनेपनि अहिले संस्था फुटेकै हो। दुई पटक नेतृत्व गरेका शेषजी र अर्का पूर्व अध्यक्षलगायतको टिम बाहिर छ,’ संस्थापन समितिमै रहेका एक पदाधिकारीको प्रश्न छ, ‘यसलाई फुट कसरी नमान्ने?’ यसलाई संस्थापन पक्षले गम्भिर रुपमा लिनुपर्ने ती पदाधिकारीको तर्क छ।
‘इगोहर्ट’ले कमजोर घले
कुँवर नेतृत्वको असन्तुष्ट पक्षले अहिले विभिन्न मुलुकहरुमा आफ्ना शाखा विस्तार गरिरहेको छ। संस्थालाई थप बलियो बनाउने तयारी रहेको उनीहरुको दावी छ।
तर, वास्तविकता भने उनीहरुले दावी गरेजस्तो छैन, दयनीय छ। बाहिर देखाउन र इज्जत बचाउन एउटा प्रचार–प्रसार गरेपनि घलेले बनाएको समिति निकै कमजोर अवस्थामा छ। यो कुरा डा. घलेले महाधिवेशनताका राम्रैसँग बुझेका पनि थिए। तर, आफ्नो इगोका कारण उनी पछि हटेनन्।
उनले विभिन्न मुलुकमा गठन गरेका शाखाहरुको अवस्था पनि झन् टीठ लाग्दो छ। समिति बनाइएको भन्दै पद र नाम सार्वजानिक गरिए पनि त्यो समितिमा भएका अधिकांशलाई एनआरएनएको बारेमा केही थाहा छैन। खाली देखाउनको लागि मात्रै उनीहरुको नाम राखिएको छ।
यसअघि विभिन्न समयमा सहयोग गरेका व्यक्तिहरू उनका विभिन्न समितिहरुमा छन्। अष्ट्रेलियालगायत विभिन्न मुलुकमा स्थापित हुने चरणमा रहेका केही नेपालीलाई उनले सहयोग गरेका थिए। ‘स्ट्रगल फेज’मा सहयोग गरेर गुन लगाएकाहरु घलेलाई नैतिकताको आधारमा सहयोग गरिरहेका छन्। यो उनीहरुको वाध्यता हो। र, स्वभाविक पनि हो,आपत्त विपत्तमा पर्दा गुन लगाएकाहरुलाई बिर्सनु हुँदैन।
यसबाहेक एनआएनएमा डा. घलेको योगदान, उनको विचार, काम गर्ने शैलीबाट प्रभावित भएर समर्थन गर्नेहरु भने सायदै होलान्। कतिपय त व्यापारिक लाभ लिने उद्देश्यले पनि उनलाई साथ दिइरहेका छन्। डा. घले अहिले कमजोर अवस्था रहेको यस्ता व्यापारिक स्वार्थ लिन खोज्नेहरुले राम्रोसँग बुझेका छन्।
साँच्चिकै भन्नुपर्दा डा. घले अहिले आफ्नो सांगठनिक जीवनकै पीडादायी घडीमा छन्। कठोर भएर बाहिर नदेखाएपनि उनी पीडै–पीडाले थलिएका छन्। उनीसँग छ त केवल कठोर बन्ने साहस र पैसा। योबाहेक अहिले उनीसँग केही छैन।
दुई–दुई पटकसम्म एनआरएनएको नेतृत्व गरेर वाहावाही कमाएका उनी अहिले गुमनाम छन्। उनीसँग भएको पैसाले अहिले केही काम गर्नेवाला छैन। पीडा भुल्ने औषधी त्यो पैसाले किनेर आउँदैन। उनलाई चारैतीरबाट एक्लो बनाइएको छ।
उनी निकटकै व्यक्तिले प्रवास खबरलाई बताएअनुसार घलेको अहिले आफैले बनाएको समितिका पदाधिकारीमाथि समेत विश्वास छैन। किनभने उनले यो समिति आफ्नो नाक जोगाउन वाध्यतामा बनाएका थिए। यसअघि विश्वास गरेकाहरुले घात गरेपछि उनले अहिले कसैको विश्वास गर्दैनन्। त्यसैले यो समितिलाई विस्तार गर्न खर्च पनि केही गरेका छैनन् उनले।
यतिबेला डा. घलेलाई पछुतो त पक्कै लागिरहेको छ। बाटो बिराएको उनले राम्रोसँग महसुस गरिरहेका छन्। पैसा छ भनेर अहमता देखाउँदा उनी नराम्रोसँग पछारिएका छन्।
उनी अहिले यस्तो अवस्थामा छन्, न छोडेर आएको ठाउँमा फर्किन सक्छन्, न आफ्नै उद्देश्यमा अडिएर अघि बढ्न। आफैले पहिल्याएको बाटोमा उनको आफ्नै विश्वास हराएको छ।
एकता चाहान्छ घले समूह
डा. घले मात्र होइन यो समूहका सबै पदाधिकारी अहिले पश्चातापमा छन्। ‘घर न घाट’ हुँदाको पीडा राम्रैसँग उनीहरुले महसुस गरेका छन्। करौडौं रुपैयाँ खर्च गरेर बनाएको सचिवालय छोडेर बालुवाटरमा भाडाको कार्यालयमा बस्नु परेको छ।
यो समूहमा रहेकाले अलग भएर अगाडी बढ्न सकिन्न भन्ने बुझिसकेका छन्। त्यसैले उनीहरु मुल नेतृत्वमै फर्किन चाहान्छन्। तर, धाक र घुर्की देखाउँदै छुट्टै समिति बनाएका उनीहरु फर्किन पनि सहज छैन। छोडेको ठाउँमा फर्किन उनीहरुलाई नैतिक संकट उत्तिकै छ।
उनीहरुको अन्तिम चाहाना संस्थापन पक्षमै फर्किने हो। यत्तिकै फर्किन नैतिक संकट परेपछि उनीहरु एकता–एकता भन्दै हिँडिरहेका छन्।
‘नाक जोगाउन’कै लागि उनीहरुले एकताको ढोल बजाइरहेका छन्। तर, मुल नेतृत्वले यसको मतलब राखेको छैन। मुल नेतृत्व घलेले बनाएको समितिका पदाधिकारीको रमिता हेर्ने मुडमा छ। उनीहरुको चाहाना घले समूहले घुँडा टेकोस् भन्ने हो। त्यसैले उनीहरु एकता गर्नेतर्फ चासो राख्दैनन्।
थाइल्याण्डमा एकताको कसरत
बाटो बिराएका पूर्व अध्यक्ष घलेलाई मुल नेतृत्वमा फर्काउन केन्द्रीय समितिका उच्च नेतृत्वले चासो नदेखाएपनि संघको एसिया क्षेत्रीय समितिले भने अथाह प्रयास गरिरहेको दावी गरेको छ।
संघका एसिया प्यासिफिक क्षेत्रीय समितिका संयोजक पारासमणि पोख्रेलले एनआरएनएमा एकता कायम गर्न थाइल्याण्डमा ‘मिलाप’ सम्मेलनको आयोजना गरिएको दावी गरेका छन्।
२६ अगस्टदेखि २८ बैंककमा हुने सम्मलेनको तयारी तीव्र भएको बताउँदै पोख्रेलले भने, ‘लगानी कसरी भित्र्राउनेभन्दा पनि अहिले एनआरएनएलाई कसरी मिलाउने भन्ने कुरा मह्त्वपूर्ण हो। अहिले एनआरएनएमा एकताको खाँचो छ। त्यसैले हामीले सम्मेलनको नाम नै ‘मिलाप’ राखेका छौं।’
उक्त सम्मेलनमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोदेखि अहिलेको कार्यसमितिमा रहेका तीनै जना अध्यक्ष सहभागी हुने दावी गरे। ‘यो ‘मिलाप’ सम्मलेन हो। डा.उपेन्द्र महतोदेखि पूर्व अध्यक्ष डा. शेष घलेलगायतका सबै अध्यक्षहरु सहभागी हुनुहुन्छ,’ उनको दावी छ। उक्त सम्मलेनमा विभिन्न ३० देशका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए।
डा. घलेलाई पनि निम्तो पठाइसकेको उनको भनाइ छ। ‘मिल्नु नै हाम्रो अन्तिम विकल्प हो। मिल्ने कुरालाई सबैले सकारात्मक रुपमा लिनुभएको छ। पूर्व अध्यक्ष डा. शेष घलेजीलाई यहाँ ल्याउन विशेष पहल गरिरहेका छौं,’ पोख्रेलले भने।
सम्मेलनमा दोसो पुस्ता, पीएनओ, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानीलगायतका विषयमा कार्यक्रम तय गरिएको छ। सम्मेलनमा नेपाल सरकारका श्रममन्त्री शेरबहादुर कुँवर प्रमुख अतिथि रहनेछन्।
सहभागी होलान् त डा. घले?
एसिया प्यासिफिक क्षेत्रीय संयोजक पोख्रेलले बैंकक सम्मेलनमा डा. घले सहभागी हुने गरेको दावीबारेमा प्रवास खबरले घले निकट समितिको एक उच्च पदाधिकारीसँग जिज्ञासा राखेको थियाे। जवाफमा ती पदाधिकारीले घले मात्र नभइ सबै पदाधिकारीलाई सम्मेलनमा सहभागी हुन निम्तो पठाइएको बताए।
‘हामीलाई सहभागी हुन अनुरोध गरिरहनु भएको छ। यसलाई सकरात्मक रुपमा लिएका छौं। मिल्नु हुँदैन भन्नेमा हामी पनि छैनौं,’ ती पदाधिकारीले भने। एसिया प्यासिफिक क्षेत्रले पठाएको निम्तोलाई डा. घलेले पनि सकारात्मक रुपले लिएको ती पदाधिकारीको भनाइ छ।
एसिया प्यासिफिक क्षेत्रीय समितिले डा. घले सहभागी हुने बताएपनि त्यो सम्भावाना न्यून रहेको बताइन्छ। डा. घलेको मुल नेतृत्वमै फर्किने चाहाना भए पनि अहिले नै उनी फर्किहाल्ने स्थितिमा छैनन्। ‘सम्भवत रवीना जी अथवा बद्रीजीकाे पालामा यो एकता हुनसक्छ। तर, अहिले नै हुने सम्भावना छैन। थाइल्याण्डको कार्यक्रममा उहाँ सहभागी हुनुहुन्छ भन्ने जस्तो मलाई लाग्दैन,’ ती पदाधिकारीले भने।
डा. घले नै सहभागी नभएपनि यो समूह निकटका केही भने सहभागी हुनसक्ने उनी बताउँछन्। ‘त्यहाँ सहभागी हुनै हुँदैन भन्ने होइन। हाम्रा केही साथीहरु जान सक्नुहुन्छ। त्यो आफ्नो इच्छाको कुरा हो। यसमा हामी जान मिल्दैन, नजानुहोस् भनेर रोक्दैनौं,’ ती पदाधिकारीको भनाइ छ।