नेपाल र बेलायतबीच श्रम सम्झौता, शून्य लागतमा नेपाली नर्स जान पाउने

नेपाल र बेलायतबीच श्रम सम्झौता, शून्य लागतमा नेपाली नर्स जान पाउने

काठमाडौं। नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्।

बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको हो। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती नागरिकको सरह हुने भएको छ।

रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।

केही समय अगाडी बेलायतले दक्षिण एसियाली क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा १ लाख श्रमिक भित्र्याउने घोषणा गरेको थियो। सोही घोषणा अनुरूप नेपालबाट नर्स लैजानको लागि मन्त्रालयमा सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए।

नेपालले बेलायत जाने नर्स लगायत स्वास्थ्य क्षेत्रका कामदारको अवधि (भिसा) ५ वर्षको हुनुपर्ने प्रस्ताव गरेको छ। तर, यसबारे पूर्ण कार्याविधि भने बनिसकेको छैन।