एनआरएनएको सिइओका लागि ४ जनाले दिए फाइनल अन्तर्वार्ता, २४ घण्टाभित्र नतिजा प्रकाशन गरिने

एनआरएनएको सिइओका लागि ४ जनाले दिए फाइनल अन्तर्वार्ता, २४ घण्टाभित्र नतिजा प्रकाशन गरिने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले फाइनल अन्तर्वार्ता दिएका छन्।

संघले गत ८ जुनमा सिइओ नियुक्तीका लागि खुल्ला दरखास्तको आह्वान गरेको थियो।१४ जुनसम्म तय गरिएको दरखास्त दिने म्यादसम्म कूल ४० आकांक्षीको आवेदन परेको थियो।

विभिन्न चरणको अन्तर्वार्ताबाट ५ जना उम्मेदवार फाइनल अन्तर्वार्ताका लागि छनोट भएका थिए।

छनोटका लागि शनिबार बेलुका भएको अन्तिम अन्तर्वार्तामा ४ जना मात्रै सहभागी भएका हुन्। राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल), बन्दना शर्मा र रवि कुमार अधिकारी फाइनल अन्तर्वार्तामा सहभागी भएका हुन्। अन्तर्वार्ताको लागि छनोटमा परेका अर्का एक जना भने उपस्थित भएनन्।

अन्तर्वार्तामा सहभागी यी ४ मध्येबाट उत्कृष्ट १ जनाले संघको सचिवालयको नेतृत्व गर्नेछन्। आइतबार नेपाली समय बेलुकासम्म अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक गरिने बताइएको छ।

संघमा गत १ बैशाखदेखि सिइओ पद रिक्त छ। बहुपदिय नेतृत्वमा रहेका संघका पदाधिकारीबीच एक-अर्कामा अविश्वास बढ्दा सिइओ नियुक्ति प्रक्रिया कठिन बनेको थियो।

नियुक्ति प्रक्रिया जटिल बन्दै जाँदा दुई पटकसम्म पदपूर्ति समिति समेत फेरबदल गरिएको थियो। अन्तिममा ९ जनाको समितिले सर्ट लिष्टमा परेकाहरुको फाइनल अन्तर्वार्ता लिएको हो।

उक्त समितिमा कार्यसमितिबाट अध्यक्षत्रय कुल आचार्य, रवीना थापा, डा . बद्री केसी, महासचिवद्वय डा . केशव पौडेल, गौरीराज जोशी र उपाध्यक्ष महेश श्रेष्ठ थिए। यस्तै विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।

फाइनल अन्तर्वार्तामा उम्मेदवारलाई प्रश्न सोधपुछ समितिका सबैजनाले गरेपनि मुल्यांकन गर्ने अधिकार भने स्वतन्त्र हैसियतले बाहिरबाट राखिएका उदास, खतिवडा र भट्टराईलाई दिइएको छ। यी तीन जनाले दिएको नम्बरका आधारमा सिइओको अन्तिम टुंगो लाग्नेछ।

नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी तरिकाले भएकोले शंका गर्नुपर्ने कुनै ठाउँ नरहने दावी संघको छ। अन्तर्वार्ता शनिबार नेपाली समय अनुसार बेलुका ४ बजेदेखि सुरु भएको थियो।