अब विदेशमा कार्यरत नेपाली पनि सामाजिक सुरक्षा कोषमा

अब विदेशमा कार्यरत नेपाली पनि सामाजिक सुरक्षा कोषमा

काठमाडौं । वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक सहकार्यका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सामाजिक सुरक्षा कोषबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर, श्रम सचिव एकनारायण अर्यालसहितको उपस्थितिमा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र संघका अध्यक्षद्वय कुल आचार्य र बद्री केसीबीच सो समझदारीमा हस्ताक्षर भएको हो।

संघलेले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यक्रममा संघ र कोषबीच समझदारी भएको हो।

संघकोतर्फबाट उपाध्यक्ष तथा वैदेशिक रोजगार राहत समितिका संयोजक आरके शर्मा र कोषका तर्फबाट निर्देशक कृष्ण अधिकारीले समझदारीपत्र निमार्णमा गृहकार्य गरेका थिए।

संघले झन्डै एक दशकदेखि ‘हजारे अभियानमार्फत’ वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्न लबिङ गर्दै आएको थियो।

संघले वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा ल्याउनका लागि सरकारी, राजनैतिक दल तथा सरोकारवाला निकायलाई दवाव दिन पटक-पटक कार्यक्रम तथा छलफल गर्दै आइरहेको छ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा रहेका नेपालीको सुरक्षामा सरकारले पहिलो प्राथमिकता राखेर काम गर्ने बताएका छन्। भर्खरै श्रम मन्त्रालय सम्हालेहालेका मन्त्री कुँवरले एनआरएनएसँगको सहकार्यबाट वैदेशिक रोजगारमा रहेका नेपालीका समस्या समाधानमा धेरै काम गर्न सकिने बताए।

मन्त्री कुँवरले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई नेपाल ल्याउने कुरामा समेत सरकारलाई चुनौती रहेको बताउँदै भने–‘ विदेशमा मृत्यु भएका वा अलपत्र परेका नेपाली नागरिकलाई देशभित्र ल्याउनको लागि एनआरएनको पनि उत्तिकै दायित्व छ।’

मन्त्री कुँवरले नेपाली श्रमिकले कमाएको रकम विदेशमा नेपाली बैंकिङ प्रणालीमा सुरक्षित गर्नसके एकमुष्ठ रेमिट्यान्स नेपाल आउने बताए। उनले मेलेसिया र साउदी अरबमा धेरै नेपाली श्रमिक रहेकाले त्यहाँ नेपाली बैंकको शाखा खोल्ने विषयमा नेपाली कानून र विदेशको ऐनको विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले भने–‘ बैंक शाखा खोल्न मिल्ने अवस्था भए नेपाली बैंकहरुसँग समन्वय गर्न सरकार तयार छ, विदेशबाट आउने रेमिट्यान्स हुण्डी तथा अन्य चोर बाटोबाट आउने गरेकाले यस्तो कार्य नियन्त्रणका लागि सरकारले काम अगाडि बढाउँछ ।’                                                                                                               

त्यस्तै कार्यक्रमा बोल्दै श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानको लागि गैरआवासीय नेपाली संघको सहयोग आवश्यक रहेको बताए। श्रम सचिव अर्यालले वैदेशिक रोजगार ऐनलाई संशोधन गर्ने कार्य अघि बढाएको बताए। ‘संसद्मा नेपाल ऐन संशोधन गर्ने तयारी भइरहेको छ, त्यसमा विदेशमा रहेका नेपाली कामदारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी वैदेशिक रोजगार ऐन परिमार्जन हुँदैछ‚’ उनले भने, ‘कोषमा विदेशमा गएका कामदारलाई हेर्ने छुट्टै युनिट गठन हुनेछ।’

कार्यक्रममा संघका उपाध्यक्ष समेत रहेका वैदेशिक रोजगार राहत कोष समितिका संयोजक आर के शर्माले विदेशमा रहेका नेपालीहरू जीवनभर विदेशमा रहेपनि उनीहरूको सुरक्षाका लागि भने कुनै व्यवस्था नहुँदा उनीहरू समस्यामा पर्ने गरेको बताए। उनीहरूको जीवनभरको कमाइ अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीलाई नेपालको उत्पादनमूलक क्षेत्रमा समेट्न आग्रह गरे। उनले भने–‘ बार्षिक आउने रेमिट्यान्सको १० प्रतिशत मात्र सामुहिक लगानी गर्ने हो भने ९० अर्व हुन्छ, यो बजेट देश विकास र रोजगार सृजनामा लगाउन सकिन्छ।’                                                                                                                                 

उपाध्यक्ष शर्माले वैदेशिक रोजगारमा मृत्यु भएका परिवारले पाउँदै आएको रकमलाई बृद्धि गर्नु पर्ने बताएका छन्। उनले भनेका छन्–‘ विमा तथा क्षतिपूर्ती रकम कम्तिमा ५० लाख पुर्यानुपर्छ।’

संघका कार्यकारी अध्यक्ष कुल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष बद्री केसीले वैदेशिक रोजगारका नाममा हुने गरेका समस्यालाई सरकार र सरोकारवाला निकायले समाधान गर्नु पर्ने बताए। कार्यपत्र विषयविज्ञ कृष्ण आचार्यले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष नरेन्द्र भाटले गरेका थिए।

लगानीको वातावरण बनाउने उद्योगमन्त्रीको प्रतिवद्धता

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले संघलाई स्वदेशमा लगानी ल्याउन सहज वातावरण निमार्णमा सरकारको तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाएका छन्। संघले आयोजना गरेको लगानी तथा वैदेशिक मुद्रा निक्षेप विषयक कार्यक्रममा मन्त्री बडुले विदेशमा बस्ने नेपालीलाई सहज हुने हरेक प्रकार समस्याको हल गर्ने बताए।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल लगालीका लागि उपयुक्त ठाउँ भएकाले एनआरएनहरुलाइृ स्वदेशमा लगानी गर्नका लागि आग्रह गरे। उनले विदेशबाट डलर खाता खोल्नका लागि अहिले सहज वातावरण बनेको हुँदा एनआरएनहरुलाई धेरैभन्दा धेरै डलर खाता खोल्नका लागि आग्रह गरे।

संघका निवर्तमान अध्यक्ष कुमार पन्तले विदेशबाट लगानी ल्याउनका लागि सहज वातावरण नभएको बताउँदै एनआरएनहरुले धेरै दुःख पाइरहेको बताए।

संघको ललितपुरमा भएको वर्कशपको निष्कर्ष प्रवत्ता सोम सापकोटाले बाचन गरेका थिए भने कार्यक्रमको सहजीकरण उपाध्यक्ष आरके शर्माले गरेका थिए।