कतारमा महिला श्रमिकको स्वास्थ्यबारे छलफल

कतारमा महिला श्रमिकको स्वास्थ्यबारे छलफल

कतारमा कार्यरत श्रमिक महिलाका लागि एकदिने महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिती र एनएआरएनए कतारको महिला विभागको सहकार्यमा शुक्रबार अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरूले भोग्नुपर्ने समस्याको बारेमा छलफल भएको थियो।

कार्यक्रममा कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले दूतावासले नेपाली समुदायसँग सहकार्य गर्दै अगाडि बढ्न्ने प्रतिवद्धता जनाएका थिए।

नेपाली महिलाले आफूलाई परेका समस्याहरू खुलस्त राख्न आग्रह गर्दै उनले दूतावास सधै नेपाली श्रमिक हितकै लागि काम गर्ने बताए।

कार्यक्रममा विशेष अतिथी स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले बिभिन्न देशमा नेपालीले आत्महत्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे। उनले मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रमा एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा. नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी जानकारी दिएका थिए।

सन् २०११ देश कतारमा कार्यरत डा. अर्यालले कतारमा मुख्य रुपमा नेपाली श्रमिकहरुको लागि भाषाको समस्या रहेको बताए। जनचेतनाले मानिसको जीवन बचाउन ठूलो भूमिका पनि बताए।

धेरैजसो महिला श्रमिकहरूमा टाउको दुख्ने समस्या रहेको भन्दै स्वास्थ्यमा समस्या आउनासाथ कतारमा रहेका वा नेपालमै रहेका चिकित्सकहरूसँग परामर्श लिन पनि उनले सुझाव दिए।

गाइनोलोजिस्ट डा. सुमित्रा थापाले महिलामा सेतो पानी बग्ने, गनाउने, चिलाउन जस्ता समस्या देखिएमा समयमै चिकित्सकहरुको सल्लाह लिन आग्रह गरिन्। उनले नेपाली महिलाहरुम युरिन इन्फेक्सन्, महिलावारी गडबढी हुने, रगत बग्ने लगायतका समस्या रहेको बताउँदै खानापान र जिवनयापन शैलीमा ख्याल गर्न आग्रह गरिन्।

त्यस्तै नेपाली महिला समाज कतारकी प्रमुख सल्लाहकार अमिना खानले महिलाबाट यस अघि नै स्वास्थ्य सम्बन्धी गुनासाहरु आउने गरेको जानकारी दिँदै स्वास्थ्य जनचेतना कार्यक्रम महत्वपूर्ण हुने बताइन्।

कार्यक्रममा गैर आवासीय नेपाली संघकी उपाध्यक्ष यास्मिन सैयद बेगम, नेपाली महिला समाज कल्याणकी अध्यक्ष सरिता भण्डारी, उपाध्यक्ष माया केसी लगायतले मन्तव्य राखेका थिए।

यसअघि गैरआवासीय नेपाली संघको स्वाथ्य समितिले विदेशमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम, कोभिड १९ को प्रभावित लगायतका विषयमा स्वास्थ्य जनचेतना मूलक कार्यक्रम गर्दै आएको छ।