हङकङमा एउटै मञ्चमा मनाइयो ‘एभरेस्ट डे’ र ‘रिपब्लिक डे’

हङकङमा एउटै मञ्चमा मनाइयो ‘एभरेस्ट डे’ र ‘रिपब्लिक डे’

जोर्डन, हङकङ । हङकङमा सगरमाथा दिवस र गणतन्त्र दिवस एउटै मञ्चमा विविध कार्यक्रम गरेर मनाइएको छ।

हङकङको चिम सा सुईस्थित रोयल गार्डेन होटलमा अन्तर्रास्ट्रिय सगरमाथा दिवस तथा १५ औँ गणतन्त्र दिवस मनाइएको हो।

२९ मार्चमा ‘एभरेस्ट डे’ र ‘रिपब्लिक डे’ एकै दिन परेकोले संयुक्त रुपमा मनाइएको गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष गोकर्ण ढकालले जानकारी दिए।

नेपाली महावाणिज्यदूतावासको आयोजना तथा एनआरएनए हङकङको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो। महावाणिज्यदूत उदय बहादुर राना मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा हङकङमा बस्ने नेपालीलगायत विदेशी समेत सहभागी थिए।

कार्यक्रममा बोल्दै एनआरएनए अध्यक्ष ढकालले महावाणिज्यदूतावासको सहकार्यमा सन् २०१७ देखि निरन्तर सगरमाथा दिवस मनाइँदै आएको स्मरण गरे । सन् २०२० मा भने कोभिड कारण कार्यक्रम गर्न नसकिएको उनले बताए।

‘विगतमा जस्तै हाइकिङ गरेर मनाउने योजनामा थियौं । तर, कोभिड जोखिमका कारण हङकङ सरकारले संयुक्त रुपमा गर्न अनुमति दिएन। त्यसैले हलमा कार्यक्रम गरेका हौं,’ ढकालले भने।

विदेशमा आयोजना गरिने यस्ता किसिमका कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे। आगामी वर्षहरुमा अझ वृहत कार्यक्रमको आयोजना गरिने अध्यक्ष ढकालले बताए।

दुई वटा कार्यक्रम एउटै मञ्चबाट मनाउन पाउनु ठूलो सौभाग्य भएको ढकालले बताए।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महावाणिज्यदूत रानाले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं यसलालाई सबैले गौरवको रुपमा मनाउनु पर्ने बताए।

यस्तै रानाले विश्वभरका पयर्टकलाई सगरमाथा भम्रणको निम्तो दिन ‘एभरेष्ट डे’ मनाउनुपर्ने बताए।

‘८ हजार फिटमाथिका हिमालमध्ये ६ वटा त नेपालमै छन्। यि हिमालहरु अवलोकनका लागि संसारभरका पर्यटक ल्याउन सक्यौं भने हाम्रो अर्थतन्त्रलाई पनि धेरे टेवा पुग्छ,’ रानाले भने।

नेपालको पर्यटन प्रर्वद्धन गर्ने हेतुले हङकङमा निरन्तर ‘एभरेष्ट डे’ कार्यक्रमको आयोजना गरिएको उनले बताए।

सन् १९५३ मे २९ मा न्यूजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ शेर्पाले पहिलोपटक सगरमाथा आरोहण गरेको सम्झनामा अन्तर्राष्ट्रिय रुपमा ‘एभरेस्ट डे’ मनाइन्छ।

कार्यक्रममा पर्यटकलाई आकर्षक गर्न नेपालका हिमाल सम्बन्धित तयारी पारिएको भिडियो प्रस्तुत गरिएको थियो।

कार्यक्रममा एनआरएनएका महिला सचिव राधिका गुरुङ (टीका) पनि सहभागी थिइन। कार्यक्रमको सञ्चालन कन्सुलर किरण कुमार गुरुङले गरेका थिए।