श्रममन्त्री श्रेष्ठ मलेसियामा, श्रमिक दिवसको दिन नेपालीसँग छलफल गर्ने

श्रममन्त्री श्रेष्ठ मलेसियामा, श्रमिक दिवसको दिन नेपालीसँग छलफल गर्ने

क्वालालम्पुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया आएको छ।

मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने मलेसिया भ्रमणमा आएका हुन्।

मन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसालसहितको टोली मलेसिया आएको हो।

बिहीबार बिहान मलेसियाको विमानस्थलमा अवतरण भएको टोली क्वालालम्पुरस्थित नेपाली दूतावासका अधिकारी र गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिले स्वागत गरेका थिए।

श्रममन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा संगठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको वैठकका एजेण्डा तय गरिनेछ । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यन्वयनको विषयमा मन्त्री श्रेष्ठले आफ्ना समकक्षीसँग छलफल गर्नेछन।

भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ। एनआरएनए मलेसियाले १ मे श्रमिक दिवसको दिन श्रममन्त्रीसँग अन्तरक्रिया कार्यक्रम राखिएको जनाउँदै उपस्थित हुन आग्रह गरेको छ।