एनआरएन नेपालका अवैतनिक राजदूत हुन् : प्रधानमन्त्री देउवा

एनआरएन नेपालका अवैतनिक राजदूत हुन् : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले गैरआवासीय नेपाली (एनआरएन) नेपालका अवैतनिक राजदूत भएको बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री देउवाले एनआरएनहरु नेपालका अवैतनिक राजदूत भएको बताए।

देउवाले उनीहरुलाई विदेशी लगानी भित्र्याउन आग्रह गरे। देउवाले एनआरएनहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिए।

नेपालको विकासमा एनआरएनले धेरै ठूलो योगदान पु-याएको देउवाको भनाइ थियो। एनआरएनलाई साथ दिन सरकार तयार रहेको देउवाले प्रतिबद्धता जनाए।

संघका नवनिर्वाचित अध्यक्षलगायत अन्य पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका थिए।

नवनिर्वाचित अध्यक्ष कुल आचार्य, डा. बद्री केसी तथा रवीना थापा, निवर्तमान अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष भवन भट्टलगायत नवनिर्वाचित पदाधिकारीहरुले नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा देउवासँग भेटघाट गरेका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एनआरएनहरुले उठाउंदै आएको दोहोरो नागरिकता, मतदानको अधिकारलगायतका विषयमा कांग्रेस पार्टी सकारात्मक रहेको बताए।

कार्यक्रमको शुरुमा नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघको तर्फबाट एक ज्ञापनपत्र पढेर सुनाएका थिए। ज्ञापनपत्रमा गैर आवासीय नेपाली नागरिकता संसदबाट छिट्टै पारित गर्न, पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक श्रद्धाश्रम (वृद्धाश्रम) बनाउन जग्गा उपलब्ध गराई दिन, वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि सामाजिक सुरक्षा कार्यान्वयन तथा कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका वाधा व्यवधान हटाउन आग्रह गरिएको छ।

उक्त अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष रबिना थापाले विदेशबाट फर्केर आएका महिलाहरुका लागि आश्रय गृह (शेल्टर) खोल्न सरकारले सहयोग गर्नुपर्ने बताइन्।

अर्का नवनिर्वाचित अध्यक्ष डा बद्री केसीले संघले कोभिडको बेला ५० देशमा २,५०० भन्दा बढी नेपालीहरुलाई सहयोग गरेको बताए। उनले संघले रुस-युक्रेन युद्धको चपेटामा परेका ५०० भन्दा बढी नेपालीहरुलाई एक हप्ता भित्रै उद्धार गरेको पनि जनाए।