एनसीसीमा देखिएका समस्या एक महिनाभित्र समाधान गर्छौं : अध्यक्ष केसी

एनसीसीमा देखिएका समस्या एक महिनाभित्र समाधान गर्छौं : अध्यक्ष केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीले संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा देखिएका समस्याहरु एक महिनाभित्र समाधान हुने बताएका छन्।

सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष केसीले एनसीसी जापान, यूएई र पोर्चुगलभित्र देखा परेका समस्या एक महिनाभित्र समाधान गर्ने प्रतिवद्धता जनाएका हुन्।

‘असन्तुष्ट रहेका साथी र एनसीसीहरुको समस्या सुनेर समाधान गर्ने काम हामीले गर्नेछौं,’ अध्यक्ष डा. केसीले भने। एनसीसी जापानको समस्या समाधान गर्न महासचिवलाई जिम्मा दिइएको उनले बताए।

यस्तै यूएई र पोर्चुगलको समस्या सुल्झाउन त्यस क्षेत्रका क्षेत्रीय संयोजकलाई जिम्मा दिइने उनको भनाइ छ। निर्वाचन हुन नसकेको यूएईमा छिट्टै नयाँ कार्यसमिति गठन गरिने डा. केसीले बताए।

पछिल्लो समय संस्था ठूलो हुँदै गएकोले समस्या पनि बढेकाे डा. केसीको बुझाइ छ। उनले भने, ‘हाम्रो संजाल ठूलो छ, समस्या पनि छन्। एकता हुनुपर्छ । हाम्रो मुख्य सपना समृद्ध नेपाल बनाउने हो।’

संस्थालाई जोगाउन सहमतिमा नेतृत्व चयन गरिएको उनको भनाइ थियो। ‘चुनाव भएको भए दुई सरो साथीहरु बाहिर हुनु हुन्थ्यो। आखिर जे–जे भएपनि संस्था बचायौं । असहमत भएका साथीहरुलाई पनि संस्थामा स्वागत छ,’ उनले भने।