एउटा दिदी र दुई भाइ भएर काम गर्नेछौँ : अध्यक्ष आचार्य

एउटा दिदी र दुई भाइ भएर काम गर्नेछौँ : अध्यक्ष आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दावी गरेका छन्।

सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा बोल्दै आचार्यले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभइ दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झैँ–झगडा हामीले सिद्ध्यायौँ। अब केहि बाँकी छैन। त्यता तिर नजाउँ।’

आचार्यले विगतको तिक्तता विर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। तीन अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ। ‘हामी सबै बसेर सँगै काम गर्दा मजा आउँछ,’ अध्यक्ष आचार्यले भने, ‘संघलाई राम्रो र हाम्रो बनाउन एउटा दिदी, दुई भाइ भएर काम गर्नेछौँ।’ संघभित्र आइपर्ने चुनौतीलाई समधान गर्न तीनै अध्यक्ष एक भएर अघि बढ्ने आचार्यले बताए।

नयाँ निर्वाचित टोलीलाई मजवुद बनाएर रचनात्मक काम गरिने आचार्यको दावी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा एकसय कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ। आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए।

‘जहाँ चुनौती हुन्छा त्यहाँ अवसर पनि हुन्छ । पशुपति नाथको आशिर्वाद रहनेछ, यो परियोजना अवश्य सफल हुनेछ,’ आचार्यले भने।