शेष घलेले खोले छुट्टै एनआरएनए, अध्यक्षमा कुँवर

शेष घलेले खोले छुट्टै एनआरएनए, अध्यक्षमा कुँवर

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) मा असन्तुष्टि जनाउँदै छुट्टै महाधिवेशन आयोजना गरेका पूर्व अध्यक्ष शेष घलेले विनोद कुँवरको नेतृत्वमा अलग्गै कार्यसमिति गठन गरेका छन्।

घले समूहले संस्थापन पक्षलाई चुनौती दिँदै मंगलबारदेखि काठमाडौंको याकनयती होटलमा छुट्टै महाधिवेशनको आयोजना गरेको थियो। महाधिवेशनले कोरिया निवासी कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा उमेश पुडासैनी (कुवेत), थर्क सेन कुवेत, बाबुरा लामा (अमेरिका) र सुरेन्द्र सिग्देल (अष्ट्रेलिया) रहेका छन्। महिला उपाध्यक्षको अष्ट्रेलियाकी जिम्मेवारी भोला लिम्बूलाई दिइएको छ।

यस्तै महासचिवमा बेल्जियमी जानकी गुरुङ चयन भएकी छिन्। यसैगरी सचिवमा जुनु गुरुङ (दक्षिण कोरिया) र कोषाध्यक्षमा डिला खरेल (अष्ट्रेलिया) चयन भएका छन्।

यस्तै क्षेत्रीय संयोजकमा केशव कँडेल (अष्ट्रेलिया), कृष्ण पोख्रेल (अमेरिका) र उल्का घिमिरे (बेल्जियम) चयन भएका छन्।

एनआरएनएकै नाममा आयोजना गरिएको उक्त महाधिवेशनलाई संस्थापन पक्षले भने ‘अवैध’ भनेको छ। घले समूहले भने आफूहरुले नै नेपाल सरकारबाट आधिकारिकता पाउने दावी गरेको छ।

कुमार पन्त नेतृत्वको कार्यसमितिले निर्वाचन गराउन असफल भएपछि प्रमुख संरक्षकले विधानले दिएको अधिकार प्रयोग गरेर महाधिवेशनको आयोजना गरिएको दावी यो समूहको छ।

यसअघि घलेलाई नै साथ दिइरहेका अध्यक्षका प्रत्यासी कुल आचार्य भने अन्तिम समयमा संस्थापन समूहमै फर्किएका छन्।