एनआरएनए कोषाध्यक्षको लागि दाहाल र पन्त भिड्दै

एनआरएनए कोषाध्यक्षको लागि दाहाल र पन्त भिड्दै

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्ष पदका लागि दुई उम्मेदवार चुनावमा होमिएका छन्।

निर्वाचन समितिका अनुसार कोषाध्यक्षमा बेल्जियमका लोकप्रसाद दाहाल र नेदरल्याण्डका फणिन्द्र पन्तले उम्मेदवारी दर्ता गराएका हुन्।

दाहाल संघको वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्षको जिम्मेवारीमा छन्।

बेल्जियममा व्यवसाय गरेर बसेका दाहालले यसअघि संघको बेल्जियम शाखाको महासचिव र अध्यक्ष भएर काम गरिसकेका छन्।

विश्वका विभिन्न देशमा मानवीय सेवा तथा कल्याणकारी काममा ख्याती कमाएको बेल्जियमका डाक्टरहरू सहभागी संस्था ‘भ्लाम्स मेडिकल’ मा कार्यकारी सदस्य नियुक्त दाहालको नेपाललगायत एसिया र अफ्रिकाका विभिन्न देशमा परोपकारी काम गरेको अनुभव छ।

नेदरल्याण्ड निवासी पन्तको २००७ देखि एनआरएनए यात्रा प्रारम्भ भएको थियो। उनले २०१३–०१५ मा नेदरल्याण्डको प्रतिनिधत्व गर्दै एनआरएनए आइसीसी सदस्यको पनि भूमिका निभाएका थिए। अहिले उनी एनआरएनए मानवसेवा विभाग अन्तर्गतको ‘ब्लड ट्रान्समिसन टेक्नोलोजी ट्रान्सफर समिति’ मा संयोजकको भूमिका निर्वाह गर्दै आइरहेका छन्।

पन्त एनआरएनएलाई एउटा नहरको रुपमा हेर्छन् । एनआरएनएप्रति नेपालीको विश्वास उच्च भएकोले एनआरएनएमार्फत काम गर्न सके प्रभावकारी हुने पन्तको भनाइ छ । संस्थाको नेतृत्व नीति,मूल्य, मान्यता र आदर्श अनुरुप चल्नुपर्नेमा उनको जोड छ।