एनआरएनए महासचिवमा जोशी र अधिकारी चुनावी मैदानमा

एनआरएनए महासचिवमा जोशी र अधिकारी चुनावी मैदानमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

महासचिवमा अमेरिकाबाट गौरीराज जोशी र बेलायतबाट विनय अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।

अमेरिकाका निवासी जोशी २००५ देखि नै गैरआवासीय नेपालीको अभियानमा संलग्न छन्। उनी संघको वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारीमा छन्।

उनले आफू पद ओगट्न नभई काम गरेर देखाउन उम्मेदवारी दिएको बताए।

उनले काम भन्दा पनि प्रोपोगण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू काम गर्ने मान्छे भएको बताए।

जोशी बौद्धिक तथा युवामाझ निकै लोकप्रिय मानिन्छन्। अमेरिकामै उनले आइटीको अध्ययन पूरा गरेका जोशी सफल व्यवसायी हुन्। पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि संलग्न छन्।

अधिकारी पनि गैरआवासीय नेपालीको अभियानमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्। बेलायतलाई आफ्नो कर्मभूमि बनाएका अधिकारी पेशाले ‘कन्सल्ट्याण्ट’ हुन्। राजनीतिक रूपमा नेपाली कांग्रेससँग नजिक भएपनि उनी एनआरएनएमा भइरहेको राजनीतिप्रति ब्यंग गर्छन।

उनले आफू चुनावी मैदानमा उत्रिएपछि दायाँ–बाँया नसोच्ने पनि बताए । अधिकारीले भने,‘ ‍चुनावमा गएपछि हार–जीत भइनैहाल्छ। मलाई सबैको माया छ। यसपटक चुनावी परिणाम मेरै पक्षमा आउँछ भन्नेमा ढुक्क छु। दायाँ–बायाँ भन्ने कुरै हुँदैन।’