एनआरएनए ओसिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डबाट केसीको उम्मेदवारी

एनआरएनए ओसिनिया क्षेत्रीय संयोजकमा न्यूजील्याण्डबाट केसीको उम्मेदवारी

काठमाडौं। गैरआवासी नेपाली संघ (एनआरएनए) को ओसिनिया क्षेत्रीय संयोजकमा लाल केसीले उम्मेदवारी दिएका छन्।

न्यूजील्याण्ड निवासी केसीले मंगलबार निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

केसीसँग यसअघि न्यूजील्याण्ड एनसीसीको नेतृत्व गरेको अनुभव छ। म्याग्दीका केसी न्यूजील्याण्डमा व्यवसायी हुन्।

न्यूजील्याडको नेतृत्व तहमा बसेर काम गर्दा धेरै कुरा सिकेको र संस्था बुझ्ने मौका पाएको केसी बताउँछन्। ‘संस्थामा लामो समय बसेर काम गरियो। ओसिनिया क्षेत्रमा रहेका नेपालीका समस्यालाई नजिकबाट बुझेकाे छु,’
प्रवास खबरलाई आफ्नो उम्मेदवारीको विषयमा जानकारी दिँदै केसीले भने,‘ओसिनियाको नेतृत्व सम्हाल्न म ‘कन्फ्यूज’ छैन।’

अष्ट्रेलियाले यसअघिका दुई कार्यकाल ओसिया क्षेत्रको नेतृत्व गरिसकेको बताउँदै केसीले यसपटक न्यूजील्याण्डलाई दिनुपर्ने बताए। आफूलाई न्यूजील्याण्ड र अष्ट्रेलियाका अधिकांश प्रतिनिधिको साथ रहेको केसीको दावी छ।

संस्था बचाउन सबै निर्वाचनमा आउनुपर्ने उनको भनाइ छ। ‘एनआरएनए विशुद्ध सामाजिक संस्था हो। यसमा आउन मरिहत्ते गर्नुपर्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘अहिलेको अवस्थामा संस्थालाई बचाउन प्रजातान्त्रिक विधि (निर्वाचन) अन्तिम विकल्प हो। निष्पक्ष चुनाव हुनुपर्छ । र, सबै चुनावमा भाग लिनुपर्छ।’

संघको निर्वाचन २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ।