रुस–युक्रेन युद्धबाट जाेगिँदै सुरक्षित स्थानमा पुगे ५६२ नेपाली

मस्को। रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन्।
गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिकका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन्।
समितिका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन्।
युक्रेन युद्धबाट विस्थापित भइ विभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक पुगेका हुन्।
तीमध्ये करिव ४ दर्जन नेपाली एनआरएनए पोर्चुगलको सम्पर्क पुगेको महासचिव राज कुमार थापाले जनाकारी दिए । थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन पोर्चुगलले आवश्यक कानूनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ।
यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा.चिरन्जीबी खड्काले जानकारी दिए।
यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ । युद्धबाट विस्थापित नेपालीको राहत तथा उद्धारको लागि राजदूत खड्का, संघका अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफै खटिएका थिए।
युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ।
दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहल समेत भइरहेको जनाएको छ।
उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ।