युक्रेनका नेपालीलाई कुनै पनि समस्या आउन दिदैनौँ : डा. बद्री केसी

युक्रेनका नेपालीलाई कुनै पनि समस्या आउन दिदैनौँ : डा. बद्री केसी फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले दन्दग्रस्त युक्रेनबाट नेपालीको उद्धार प्रक्रिया सुरु भइसकेको बताएका छन्। सीमा क्षेत्रमा १ दर्जनभन्दा बढी एनआरएनएका स्वयम्सेवक परिचालन गरिसकिएको उनले जानकारी दिए।

रुसको सैन्य आक्रमणपछि युक्रेनमा रहेका नेपाली सुरक्षित हुन छिमेकी देशमा प्रवेश गर्न थालेका छन्। बोर्डर क्षेत्रमा पुगेका नेपालीलाई संघका स्वयम्सेवकले खाना बस्नको व्यवस्था गरेको उनले बताए।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डा. केसीलाई एनआरएनएले युक्रेनको लागि कोर्डिनेशन गर्ने जिम्मा दिएको छ।

‘युक्रेनमा झण्डै ४ सय नेपाली हुनुहुन्छ। युद्ध सुरु भएपछि उहाँहरुसँग हामी निरन्तर सम्पर्कमा छौँ,’ डा. केसीले कोभिड महामारीमा हजारौँ नेपालीलाई सहयोग गरेको स्मरण गर्दै भने,‘ यो संख्या त्यत्ति ठूलो होइन। युक्रेनका नेपालीलाई सहयोग गर्न एनआरएनए सक्षम छ। उहाँहरुलाई कुनै पनि समस्या आउन दिदैनौँ।’

युक्रेनमा रहेका नेपाली सुरक्षाका लागि अहिले ल्याण्ड बोर्डर हुँदै छिमेकी देश पोल्याण्ड, स्कालोभिया, हंगेरी, रोमेनिया र माल्डावातर्फ लागिरहेका छन्। यी देशहरुले मानवीयताको हिसावले सीमा नाका खुल्ला गरिदिएका हुन्। यी देशका सीमा नाकामा एनआरएनएका स्वयम्सेवक परिचालन गरिएको डा.केसीले जानकारी दिए।

‘बोर्डर छिर्नलाई हामीले गाइड गरिरहेका छौँ। कतिपयले बोर्डर पार गरिसक्नु भएको छ। केही बोर्डरमा पुग्दै हुनुहुन्छ। ट्राफिक जामका कारण कतिपयलाई बोर्डर पुग्न कठिनाइ भएको छ,’ डा. केसीले भने। नेपालीलाई ट्रेनको प्रयोग गर्न उनले सुझाव समेत दिए।

डा. केसीले बर्लिनस्थित नेपाली दूतावासका राजदूत रामकाजी ढकालसमक्ष सीमा नाकामा खटिने एनआरएनएका प्रतिनिधिलाई स्वयम्सेवक कार्ड बनाइदिन पहल गर्न आग्रह समेत गरेका छन्।

यस्तै नेपालीको उद्धारको लागि स्थानीय रुपमा संयन्त्र गठन गर्न लागिएको पनि उनले जानकारी दिए। यसैगरी कानूनी परामर्शको लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई परिचालन गरिएको उनको भनाइ छ।

उनले नेपालमा रहेका परिवार तथा आफ्न्तलाई नआत्तिन समेत आग्रह गरे। ‘नेपालमा हुनुभएका परिवार तथा आफन्तलाई अहिले निकै चिन्ता भएको छ। तर, तपाईँहरु नआत्तिनुहोला। हाम्रो संस्था ठूलो हो। हामी गास कटाएर भएपनि सहयोग गर्न तयार छौँ। हाम्रा नेपालीलाई सकुशल फर्काउन एनआरएनए प्रतिबद्ध छ,’ डा.केसीले भने।

नेपाल फर्किन चाहनेलाई हवाइ टिकटको लागि समन्वय समेत गरिने उनले बताए।