एनआरएनए फुटाउने दुस्साहस नगर्न प्रवक्ता क्षेत्रीको चेतावनी

एनआरएनए फुटाउने दुस्साहस नगर्न प्रवक्ता क्षेत्रीको चेतावनी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डीबी क्षेत्रीले संघलाई फुटाउने दुस्साहस नगर्न चेतावानी दिएका छन्। संघका केही पूर्व अध्यक्ष संस्थालाई फुटाउने षड्यन्त्रमा लागेको बताउँदै उनले सो चेतवानी दिएका हुन्।

आफ्नो व्यक्तिगत स्वार्थ पूरा नभएपछि केही व्यक्तिले संसाभर रहेका नेपालीको पवित्र संस्थामाथि नै प्रहार गरेको उनको आरोप छ।

उनले एनआरएनए फुटाउन ठूलो कोशिस भएको जनाउँदै चिन्ता व्यक्त गरे। संस्था बचाउन आफूहरु डटेर लाग्ने क्षेत्रीको भनाइ छ।

मध्यपूर्व, एसिया र अफ्रिका क्षेत्रमा रहेका गैरआवासीय नेपालीलाई देखाएर संघको नेता बनेका केही पूर्व अध्यक्षहरुले अहिले पिपुल नेपाली ओरिजिन (पीएनओ) को बहानामा आफूहरुलाई धोका दिएको प्रवक्ता क्षेत्रीको आरोप छ। मध्यपूर्व, एसिया, र अफ्रिका क्षेत्रका नेपालीलाई अपमान गरिएको आरोप उनले लगाए।

प्रवक्ता क्षेत्रीले एनआरएनए सबैको साझा संस्था भएकोले यसलाई कसैले फुटाउन नस्कने दावी गरे। अलग्गै संस्था खोल्न मन भएकालाई छुट भएको उनले बताए। पीएनओ मात्रको संस्था खोल्न चाहनेको रहर पूरा गर्न आफूहरु सहयोगकाे लागि तयार रहेको उनको भनाइ छ।

पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा रहेको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन गठित समितिले मध्यपूर्वका देशमा ठूलो संख्यामा प्रतिनिधि कटौती गर्ने प्रस्ताव गरेपछि क्षेत्रीले असन्तुष्ट व्यक्त गरेका हुन्।

प्रतिनिधि कटौतिलाई क्षेत्रीले मध्यपूर्वमा रहेका श्रमिकमाथिको प्रहार ठहर्‍याएका छन्।

एनआरएनएका पूर्व अध्यक्ष घलेसहित केही व्यक्तिहरु पिपुल नेपाली ओरिजिन (पीएनओ) संस्था खोल्न सक्रिय रहेको बताइएको छ।