राजनीतिक झण्डा लिएर एनआरएनए भित्र नपसौ : महासचिव प्रत्यासी जोशी

राजनीतिक झण्डा लिएर एनआरएनए भित्र नपसौ : महासचिव प्रत्यासी जोशी

काठमाडौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान सचिव एवम् आगामी महाअधिवेशनका महासचिव प्रत्यासी गौरी राज जोशीले आफनो मुलुकभन्दा बाहिर बसेको अवस्थामा पनि राजनीतिक पार्टीको ढोल बजाएर नहिड्न आग्रह गरेका छन्। विदेशमा रहेका सबै नेपाली एक सुत्रमा बाधिनुपर्नेमा राजनीति प्रभावमा परी एकअर्का प्रति दोषारोपण नगर्न समेत उनले आग्रह गरेका छन्।

महासचिव प्रत्यासी जोशीले आफनो मातृभूमि नेपाललाई समृद्धि बनाउनु आ— आफनो ठाउँबाट सक्दो प्रयास गर्नुपर्ने बताए। नेपाली नेपालीबीच सद्भाव, भाईचारा, सहकार्य, सदाचारलाई ह्दयंगम गरी एक अर्का प्रति विश्वासको वातावरण बनाउन समेत उनले सबैलाई आग्रह गरे। त्यस्तै सामुहिक लगानीलाई जोड दिदै विदेशी लगानीलाई मातृभूमि नेपालमा भित्राउन सबैले प्रयास गर्नुपर्ने उनले बताए । ‘हामी जहाँ जसरी रहे पनि नेपाल नै हाम्रो मातृभूमि हो। जहाँ हाम्रो पुर्खा, इतिहास, परिवार, सम्झनाहरु जिवित नै छन्। त्यही मुलुकको समृद्धिका लागि सबै एनआरएनए मिलेर अगाडी बढौ,’ उनले भने।                                                                                  राम्रो अवसरको खोजी विश्वका विभिन्न मुलुकमा रहेका नेपाली एकताबद्ध हुन एनआरएनएको गठन भएको हो। ‘हामी संस्थागत रुपमा अगाडी बढ्न सक्यौ भने हरेक कुरा सम्भव छ । तर, संस्था भित्र नै एक अर्कोलाई हिलो छ्रयाप्ने काम गर्‍यो भने संस्थाकै लागि नराम्रो हुन्छ,’ उनले भने।

प्रविधिलाई आत्मसाथ गर्नुपर्ने                                       
एनआरएनएका महासचिव प्रत्यासी गौरी राज जोशीले सुचना प्रविधिको प्रयोगलाई आत्मसाथ गर्नुपर्ने बताएका छन्। समयक्रमसँगै मानिसले नै निर्माण गरेको विज्ञान प्रविधिलाई प्रयोगमा नल्याउनु मुर्खता उनले बताएका छन्।

आजको युगमा हरेक क्षेत्रमा प्रविधिको प्रयोग हुन थालेको छ। प्रविधिको कारण विश्व सानो गाउँमा परिणत भएको छ। हामी एउटा कोठामा भित्र रहेर विश्वलाई हेर्ने सक्ने भएका छौ। यसले मानिसको जीवन शैलीलाई सहज र सरल बनाईदिएको छ। यसै परिपे्रक्ष्यमा एनआरएनएको आगामी निर्वाचनका लागि अनलाईन मतदान प्रणालीको प्रयोग गरिएको उनले जानकारी दिए।

अनलाइन मतदानको व्यवस्थापनका लागि विदेशमा रहेका प्रविधि विज्ञहरुको सुझाव र सल्लाह अनुसार प्रयोगमा ल्याईएको उनले बताए। तर, एनआरएनए भित्रकै केही व्यक्तिहरुले सो प्रणालीप्रति शंका गरेकोमा आफैलाई आश्चार्य लागेको उनले बताए। ‘हामी विश्वका धनी र विकसित मुलुकमा बस्दै आएका छौ । जहाँ हरेक काम प्रविधिले गर्छ। तर, हामी आफैले प्रयोग गर्ने अनलाईन प्रणाली माथि हामी आफैले शंका गर्छौ,’ उनले भने।

महाधिवेशनलाई विफल बनाउँन नियतवश नै अनलाइन प्रणालीकोे विरोध गरेको उनले दाबी गरे। राजनीतिक पार्टीको आडमा आफनो दम्भ देखाउँन गरिएको यस्तो विरोधले प्रणाली निर्माणमा योगदान दिएका व्यक्तित्वहरुको खिसिटिउरी भएको भन्दै उनले दु : ख व्यक्त गरे। ‘कसैले कसैको सामाजिक प्रतिष्ठा र भविष्यमाथि खेलवाड नगरौ । त भन्दा म ठूलो भन्ने परम्परा शैलि अनि सत्ता र शक्तिको ध्वास र प्रवृत्तिको दिर्घकालिन रुपमा अन्त्य गरौ,’ उनले भने।

संघको संस्थागत बिकासलाई दिगो र बलियो बनाउदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई संघको बृहत्तर हितको लागि परिचालन गर्नुपर्छ भन्ने कर्तब्यबोध गर्न समेत उनले सुझाए।