एनआरएनए निर्वाचन : सचिवालयमा अध्यक्ष पन्तले बोलाए ‘राउण्ड टेबल मिटिङ’

एनआरएनए निर्वाचन : सचिवालयमा अध्यक्ष पन्तले बोलाए ‘राउण्ड टेबल मिटिङ’ फाइल तस्वीर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले निर्वाचनको विषयलाई लिएर यतिबेला काठमाडौंमा रहेका एनआरएनए अभियान्तासँग सचिवालयमा ‘राउण्ड टेबल मिटिङ’ गरिरहेका छन्। आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्यासी डा.बद्री केसी, कुल आचार्य र रवीना थापासहित नेपालमा रहेका अन्य एनआरएन अभियान्तालाई बोलाएर पन्तले बैठक गरेका हुन्।

बालुवाटारस्थित सचिवालयमा बिहान ११ बजेदेखि बैठक चलिरहेकाे त्यहाँ सहभागी एक पदाधिकारीले प्रवास खबरलाई बताए।

समयमै निर्वाचन हुन नसक्दा संघको वर्तमान नेतृत्व आलोचित बन्दै गएको छ । गत अक्टोबरमै आयोजित संघको महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको कारण देखाउँदै परराष्ट्र मन्त्रालयले रोकेको थियो। विधानअनुसार थपिएको ६ महिने कार्यकालको म्याद पनि अब सकिदैँछ। अध्यक्ष पन्त यतिबेला जसरी भएपनि निर्वाचन गराउनुपर्ने दवावमा छन्।

सबै पक्षसँग संवाद र सहमतिका आधारमा विवाद  समाधान गर्ने पन्तले बताउँदै आएका छन् । तर, अहिलेसम्मका उनका प्रयासले सार्थकता भने पाएनन्।

अध्यक्ष पन्तले सञ्चारमाध्यमसँग अबको एक महिनाभित्रमा निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

सोमबारमात्रै पन्तले गठन गरेको उच्चस्तरीय समितिको सहमतिपत्र बाहिरिएको थियो। विवाद समाधान समितिका सदस्यबीच समयमै निर्वाचन गराउन सात बुँदै शर्तसहित सहमति जुटेको उक्त पत्रमा उल्लेख छ। जसमा कुल आचार्यको तर्फबाट यादव पण्डितले हस्तारक्षर गरेका थिए। तर,  आचार्य पक्ष भने कुनैपनि सहमति नभएको भन्दै त्यसको विरोधमा उत्रिएको छ।

मंगलबार सचिवालयमा आयोजित ‘राउण्ड टेबल मिटिङ’ सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्

एनआरएनए विवाद समाधानतर्फ, निर्वाचन गराउन सात बुँदै सहमति (सहमतिपत्रसहित)