कोरियाको नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग

कोरियाको नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग

सौल। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाले विदेशमा रहेका श्रमिकहरुलाई नेपाल सरकारको सामाजिक सुरक्षा कोष कार्यक्रममा सहभागी गराउन आवश्यक पर्ने नीति–नियम निर्माण र कार्यान्वयनका लागि नेपाली राजदूतावास सौलमार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण गराएको छ। संघले दक्षिण कोरिया र नेपालबीच नियमित रुपमा सहज र शुलभ हवाई उडानका लागि वैकल्पिक माध्ययमहरुको खोजी गर्न पनि दूतावाससमक्ष आग्रह गरेको छ। राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरियाका प्रबक्ता सन्तोष खड्काले बताए अनुसार अहिले दक्षिण कोरियाबाट नेपालको लागि नियमित उडान नहुँदा यात्रुहरू चर्को भाडा तिर्न बाध्य छन्। गत मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षण लागि तयार पारिएको पत्र प्रबक्ता खड्काले बाचन गरिसकेपछि अध्यक्ष दिपक पुनले कार्यबाहक राजदुत रामसिंह थापालाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा राजदुतावासका तर्फबाटबाट श्रम सहचारी श्रीमती रमा भट्टराई र द्वितीय सचिव सुर्यबहादुर थापाको उपस्थित थियो। संघका तर्फबाट महासचिव रोशन भट्टराई, निवर्तमान अध्यक्ष एवं वर्तमान व्यस्थापन संयोजक यज्ञ प्रसाद सुबेदी, सदस्य हर्कमान गुरुङ र कार्यलय सचिव हिसप श्रेष्ठ समेतको कार्यक्रममा उपस्थिति थियो।

कार्यक्रममा बिदेशमा रहेका लाखौ नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष कार्यक्रमबाट प्रत्यक्ष लाभ उपलब्ध गराउन नेपाल सरकारले विस्तृत अध्ययन गरि प्रभावकारी नीति, नियम र ऎन निर्माण गर्नुपर्ने हुँदा कार्यान्वयनमा ल्याउन विदेशमा रहेका जिम्मेवार संघ संस्थाहरुको सल्लाह र सुझाव महत्त्वपूर्ण रहने कार्यबाहक राजदुत रामसिंह थापाले बताए।

त्यस्तै दक्षिण कोरियासंग द्विपक्षीय सम्झौता हुन सकेमा नेपाली नागरिक र नेपाल सरकारलाई पुग्ने फाईदा बेफाईदा बारेमा गहन अध्ययन गरि थप दस्तावेजहरु संकलन गरि नेपाल सरकारलाई उपलब्ध गराउन आफूहरु इच्छुक रहेको अध्यक्ष पुनले जानकारी दिए।

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका महासचिव रोशन भट्टराईले एनआरएनए कोरिया सबै नेपालीहरुको साझा संस्था भएकोले आफूहरू कोरिया र बिश्वभरि छरिएर रहेका नेपालीको सहयोगी भएको बताउन भुलेनन्। उनले नेपाली राजदूतावासले सामाजिक सुरक्षा कोष र नियमित उडानको लागि गम्भिर भएर सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइदिनका लागि अनुरोध समेत गरे। एनआरएनएको अन्तर्राष्ट्रिय संजाललाई प्रयोग गरि अन्य मुलुकहरुमा पनि सम्बन्धित देशको सामाजिक सुरक्षा सम्बन्धि नीति नियमहरुको अध्ययन गरि नेपाल सरकारलाई वृहत सुझाव र सल्लाह उपलब्ध गर्न सकिने व्यस्थापन संयोजक यज्ञराज सुवेदीले बताए।

कोभिड–१९ का कारणले रोकिएको नेपाल–कोरियाबीचको नियमित हवाई उडान अहिलेसम्म संचालन हुन नसक्दा कोरियादेखि नेपाल जाने र नेपालदेखि कोरिया आउने यात्रुहरु सहज र सुलभ यात्रा गर्नबाट बन्चित रहेका छन्। अन्य मुलुकहरुसंग सहज बनिसकेको हवाई यात्रा नेपाल र कोरियाबीचमात्रै सहज संचालन हुन नसक्दा नेपाली यात्रुहरु चर्को मूल्य तिरेर यात्रा गर्न बाध्य छन्।