राजनीतिक गतिविधिमा लागेको भन्दै कुल आचार्यमाथि कारवाहीको दबाब

राजनीतिक गतिविधिमा लागेको भन्दै कुल आचार्यमाथि कारवाहीको दबाब

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को विधान विपरित राजनीतिक पार्टीमा सक्रियता देखाएको भन्दै एनआरएनएको आसन्न महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यमाथि कारवाहीको दबाब बढेको छ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा आचार्य प्रतिनिधिको रूपमा सहभागी भएपछि यस्तो दबाब बढेको हो। आचार्य र पूर्वअध्यक्ष शेष घलेको सक्रियतामा यसअघि कांग्रेस सरकारले एनआरएनएको चुनाव रोक्न दुई पल्ट पत्र काटेको थियो।

सरकारी हस्तक्षेपविरूद्ध संघका अध्यक्ष कुमार पन्त उच्च अदालत पाटन पुगेपछि अदालतले परराष्ट्रको पत्रलाई गैरकानूनी ठहर गर्दै निर्वाचनको वातावरण तयार पारेको थियो।

एनआरएनएको यसपालिको चुनावमा आचार्यविरूद्ध डा.बद्रि केसी र रवीना थापा मैदानमा उत्रिएका छन्। डा.केसी अध्यक्षको बलियो दावेदार मानिन्छन्। उनलाई अध्यक्ष बन्न नदिन आचार्य र घलेको समूह सक्रिय छ।

एनआरएनएको निर्वाचन सम्बन्धी नियमावलीको दफा ७.६ मा संघको कार्यकारी पदमा रहेका व्यक्तिहरू कुनै राजनीतिक, जातीय र धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्यमा पद ग्रहण गरेको पाइएमा संघबाट पदमुक्त गर्न सकिने व्यवस्था छ।