मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने कुल आचार्यको प्रयास, होटेल र्‍याडिसनमा रात्रीभोज

मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने कुल आचार्यको प्रयास, होटेल र्‍याडिसनमा रात्रीभोज

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएको छ।

गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडौंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएको भन्दै अर्को पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेको आरोप लगाएको छ।

रात्रीभोजमा सहभागी गैरआवासीय नेपाली संघ यूकेका पूर्व–उपाध्यक्ष थर्क सेनका अनुसार सो भोजमा बेलायतका लागि पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालयका सहसचिव डा. दुर्गाबहादुर सुवेदीसमेतको उपस्थिति थियो । सेनले गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय निर्वाचनको यात्रामा काठमाडौंको र्‍याडिसन होटलमा आयोजित रात्रीभोजमा सरकारी उच्चअधिकारीसहित सुझाव लिएको आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पुष्टि गरेका छन् ।

गत आइतवार पाटन उच्च अदालतले एनआरएनए निर्वाचन रोक्नु भन्ने परराष्ट्र मन्त्रालयको निर्देशन अन्तरिम आदेशमार्फत बदर गरिदिएपछि सोबिरुद्ध मन्त्रालयमार्फत सर्वोच्च अदालतमा अपिल गराउने उद्देश्यले आचार्यले मुख्य सचिवसहितको डिनरको आयोजना गरेको बताइएको छ । मुख्यसचिव बैरागी र आचार्य दुवैजना पर्वत जिल्लाबासी हुन्।

गैरआवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसको ठाडो हस्तक्षेपमा परराष्ट्र मन्त्रालयमार्फत महाधिवेशन तथा निर्वाचन रोकिएको संघको संस्थापन पक्षले आरोप लगाएको छ।

सत्ता गठबन्धनको उम्मेदवारको रूपमा चर्चामा रहेका आचार्यले सरकार र शक्तिकेन्द्रको प्रयोग गरेर संघको निर्वाचन रोक्ने प्रयास गर्दै आएको अर्को पक्षको आरोप छ । संघको निर्वाचनमा डिसेम्बर २६ र २७ तारिख अनलाइनमार्फत हुने गरी निर्वाचन समितिले तालिका प्रकाशन गरेको छ । संघको नयाँ नेतृत्वका लागि संघका वर्तमान उपाध्यक्षद्वय डा. बद्री केसी, रविना थापा र कुल आचार्य आकांक्षी छन्। न्यूज कारखाना