‘टिम बद्रि’ को सहयोगी हात, दुबईबाट जुम्ल्याहा बच्चासहित उद्वार गरिएकी युवतीलाई ३ लाख सहयोग

‘टिम बद्रि’ को सहयोगी हात, दुबईबाट जुम्ल्याहा बच्चासहित उद्वार गरिएकी युवतीलाई ३ लाख सहयोग

काठमाडौं।सानैमा उनको बुवाले अर्के केटीसँग बिहे गरे। आमाले पनि अन्यत्रै बिहे गरिन्। सानैमा टुहुरी भएकी सिन्धुपाल्चोककी पासाङ योञ्जन लामा (वर्ष २८) को जीवनी कुनै फिल्मी कहानीभन्दा कम छैन।
उनले लामो समय नेपालमा संघर्ष गरिन। तर, यहाँ केही नभएपछि सुन्दर भविस्यको कामना गर्दै ८ फेब्रुअरी सन् २०२० मा उनी संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई उडिन, वैदेशिक रोजगारीका लागि।
उनलाई सुरुमा लागेको थियो– दुबई पुगेपछि सबै समस्याबाट मुक्ति पाउँछु! तर, विदेशमा पनि उनलाई दुःखले पिछा छोडेन। अझ भनौं उनले कल्पनै नगरेको चोट सहनुपर्यो।

उनी जुन केटालाई विश्वास गर्थिन, उसले धोका दियो। उनको काम ‘सेल्स डिपार्टमेन्ट’ मा थियो। तुलनात्मक रूपले अरुभन्दा राम्रो। तर, एकदिन काम गर्ने सिलसिलामा नराम्ररी बिरामी परिन्। उनलाई सबैको सहयोगले अस्पताल पुर्याइयो। यही थाहा भयो– उनी आमा बन्न लागेकी रहेछिन्। यो घटनाले गर्दा उनले खादै आएको जागिर गुमाउनु पर्यो। कोरानाका कारण विश्व अस्तब्यस्त भएको बेला २८ अगस्ट, २०२० मा उनले दुबईकै एक अस्पतालमा दुई जुम्ल्याह छोरी तेन्जिङ डोल्मा र साङ्गे डोल्मालाई जन्म दिइन्।

यसबीच उनले आफूलाई धोका दिने केटा तथा आफ्नो छोरीका बुवालाई खोज्ने चेस्टा नगरेकी होइनन्। तर, कतै पत्तो नलागेपछि उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) युएईको प्रतिनिधिहरूको सम्पर्कमा आइन्।
र, एनआरएनएका उपाध्यक्ष डा.बद्रि केसीको संयोजकत्वमा रहेको राहत, उद्धार तथा पुनस्र्थापना कार्यक्रमले उनको र उनको छोरीको उद्धार गर्यो।
‘डेलिभरी’को समय उनीसँग पैसा पनि थिएन। जागिर गुमाउनु परेको हुनाले उनलाई कम्पनीले सहयोग गर्ने अवस्था पनि थिएन। तर, एनआरएनएको त्यही राहत, उद्धार तथा पुनस्र्थापना समितिले उनलाई भरपुर सहयोग गर्यो। अस्पताललाई तिर्नुपर्ने ५० हजार दिराम पनि संघ र दुबईको स्वास्थ्य विभागको समवन्यमा मिनाह भयो।एनआरएनएकै पहलमा उनी २८ जुन २०२१ मा नेपाल फर्किन सफल भइन्।

त्यसयता उनी काठमाडौंको जोरपाटीस्थित एउटा घरमा एक कोठा भाडामा लिएर आफ्नो छोरीहरू पाल्दै आइरहेकी थिइन। उनलाई साथ र सहयोग गर्ने नहुँदा छोरीहरू हुर्काउन निकै गाह्रो परिरहेको थियो।

तर, डा. बद्रि केसीकै समूहले सोमबार तीन लाख रुपैयाँ उठाएर फेरि उनको उद्धार गरेको छ। अमेरिकाबाट हालै नेपाल फर्किएकी यमुना भट्टराईले तीन लाख रुपैयाँको चेक उनलाई जोरपाटीस्थित उनकै डेरामा पुगेर बुझाउँदा उनी भक्कानिन् पुगेकी थिइन।

‘विगत ६ महिनादेखि मेरो स्थिति दयनीय थियो। छोरीहरू कसरी हुर्काउने भन्ने चिन्ताले सताइरहेको बेला मलाई सहयोग गर्न आउनुभयो। म कुन शब्दले आभार व्यक्त गर्नु,’ उनले भनिन्, ‘मसँग त ऋण माग्ने व्यक्ति पनि थिएनन्।’

उनीसँग पहिले बहिनी बस्दै आएकी थिइन। तर, बहिनीको बिहे भएपछि उनको अवस्था झन् दयनीय बनेको थियो। छोरीहरू १५ महिनाको भएको हुनाले कतै गएर काम गर्ने अवस्था पनि छैन। उनी आफै ६ कक्षासम्म मात्र पढेकी छिन। तर, छोरीहरूलाई धेरै पढाउन चाहन्छिन्। आफू धेरै नपढेपनि केही काम गरेर छोरीहरू राम्रोसँग पाल्नसक्ने हिम्मत छ, उनमा। तर, दुई वटा छोरी च्यापेर काममा जाँदा काम गर्ने ठाउँमा राम्रो नमान्ने कारण अहिले घरमा थन्किन विवश हुनुपरेको छ।

दुबईस्थित अस्पतालमा हुँदा उनीसँग केहीले बच्चा पालिदिने भन्दै मागेका पनि थिए। तर, आमाको मन कसरी मान्छ? उनको मनले पनि मानेन। अहिले डा. केसी र उनको टिमको सहयोगी मनका कारण आफूलाई हिम्मत मिलेको उनको भनाइ छ। ‘उहाँहरुले सहयोग नगरिदिएको भए, म यहाँसम्म आइपुग्दिन थिए होला। अहिले पनि मेरो चासो राखेर आउनु भएको छ,’ उनले भनिन्।

वास्तवमा यो घटनालाई डा. केसीले निकै नजिकबाट नियालिरहेका छन्। समाजमा देखिने यस्ता विकृत घटनाले उनी उद्धेलित पनि हुने गरेका छन्। ‘म अरुको दुःख हेर्न सक्दिन। यो घटनामा हामी संलग्न भएदेखि नै म साथीहरूलाई सोधिरहेको हुन्छु,’उनले भने, ‘राम्रो नभएको जानकारी पाएपछि फेरि सबै मिलेर सहयोगी हात अगाडि बढाएका हौडा. केसी संयोजक रहेको राहत, उद्धार तथा पुनस्र्थापना समितिले पासाङलाई मात्र होइन, उनी जस्ता विदेशमा दुःख पाएका २ हजार नेपालीको उद्धार गरिसकेको छ। एनआरएनएको उद्देश्य परिपूर्तिका लागि यो आफैमा ठूलो? उपलब्धी हो।
सोमबार टिम बद्रिको समूहले पासाङलाई आर्थिक सहयोग मात्र गरेको थिएन। जाडोका लागि न्यानो कपडाको पनि व्यवस्था गरेको थियो। यी सबै सामान पासाङ जस्तो नियतीले ठगिएका महिलालाई हस्तान्तरण गर्न पाउँदा यमुना भट्टराई पनि दंग थिइन। उनी भन्दै थिइन, ‘मानव भएर मानवीय कार्यमा थोरै भएपनि सहयोग गर्न पाउनु हामी सबैको भाग्य हो। अफ्ठ्यारोमा परेका सबै नेपालीलाई सहयोग गर्नु हाम्रो कर्तब्य पनि हो।’

पासाङको सहयोगमा जुटेका एनआरएनएका सचिव अमेरिका निवासी गौरीराज जोशी पनि विपतमा परेका नेपाली चेलीहरूलाई सहयोग गर्न पाउनु आफ्नो पनि भाग्य भएको बताउँछन्। ‘यस्ता घटनाले कसको मन दुख्दैन र! मेरो पनि दुखेको छ। तत्कालका लागि हामीले केही आर्थिक सहयोग गरेका छौं,’ उनले भने, ‘हाम्रो उद्देश्य खाली आर्थिक सहयोगमा मात्र केन्द्रित छैन। उनलाई कसरी आत्मनिर्भर बनाउने तर्फ पनि केन्द्रित छ।’

उनले वैदेशिक रोजगारीमा दुःख पाएका नेपालीहरूलाई सहयोग गर्न सबैलाई आग्रह पनि गरेका छन्।