एनआरएनएको स्थगित चुनाव १५ डिसेम्बरमा

एनआरएनएको स्थगित चुनाव १५ डिसेम्बरमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थगित १० औं महाधिवेशन आउँदो डिसेम्बर १९–२० मा तय भएको छ।

संघका अध्यक्ष कुमार पन्तले प्रवास खबरलाई यसको जानकारी दिँदै भने–‘निर्वाचन १५ डिसेम्बरमा हुनेछ। महाधिवेशन भने १९–२० मा काठमाडौंमा गर्ने तय भयो।’

स्थगित निर्वाचनको तयारी शुक्रबारदेखि नै सुरु भएको पनि उनले टेलिफोनमार्फत प्रवास खबरलाई जानकारी दिए।

एनआरएनएमा प्रतिनिधि छनोट चयनमा विवाद उत्पन्न भएपछि परराष्ट्र मन्त्रालयले महाधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो। यसअघि एनआरएनएको महाधिवेशन गत अक्टुबर २३–२५ मा तय भएको थियो।

‘हामीले यसबीच मन्त्रालयसँग धनीभूत कुराकानी गरेका थियौं। परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग पनि कुराकानी भएको थियो,’ पन्तले भने।

संघले चुनाव गराउने सम्बन्धमा एउटा मार्गचित्र तयार पारेको थियो, जसमा मन्त्री खड्का सकारात्मक भएको अध्यक्ष पन्तको भनाई छ। संघले निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्दै विज्ञप्ती प्रकाशित गरिसकेकाे छ।