पूर्व अध्यक्ष लामिछाने नेतृत्वको ‘एनआरएन फाउण्डेसन’ ले पायो वैधानिकता

पूर्व अध्यक्ष लामिछाने नेतृत्वको ‘एनआरएन फाउण्डेसन’ ले पायो वैधानिकता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गरेको गैर–नाफा मुलक संस्था ‘एनआरएन फाउण्डेसन’ले वैधानिकता पाएको छ। नेपालमा थप परोपकारी परियोजना सञ्चालन गर्नका लागि पूर्व अध्यक्ष जीवा लामिछानेको संयोजक्तवमा स्थापाना गरिएको ‘फाउण्डेसन’ कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा दर्ता भएको हो ।

यसअघि संघले विश्वको विभिन्न मुलुकमा रहेका नेपालीले नेपालमा गर्दै आएका परोपकारी कामलाई प्रभावकारी र पारदर्शी बनाउने उदेश्यका साथ फाउण्डेसको स्थापना गरेको थियो । संघले जनाएअनुसार फाउण्डेसनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग गर्नेछ । त्यस्तै मठमन्दिर, प्राचिन स्मारकको मर्मत तथा जीर्णोद्धार, कला तथा संगीत क्षेत्रमा पनि फाउण्डेसनकाे सहयोग रहनेछ । यसका अलावा वैज्ञानिक तथा श्रमिकको क्षमता वृद्धि, अन्तराष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीको उत्थान,विपत व्यवस्थापन तथा अन्य क्षेत्रमा पनि यो फाउण्डेसनले काम गर्नेछ।

एनआरएनएको विधान २००३ (२०२१ को संशोधनसहित) मा फाउण्डेसन सञ्चालन गर्न पाइने व्यवस्था छ । नेपालभित्र वा विश्वको जुनसुकै स्थानमा विधान अनुरुप फाउण्डेसनको स्थापना गर्न सकिनेछ । फाउन्डेसनमार्फत गर्ने कार्यमा आवश्यक कोषको व्यवस्थापनमा सहयोग पुग्ने संघको विश्वास छ ।

फाउण्डेशनका संस्थापक सदस्यहरुमा संघका वर्तमान अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकार कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला रहेका छन् ।

फाउण्डेशनको पहिलो आधिकारीक बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको थियो। यस्तै सदस्यहरुमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरेको छ ।