एनआरएनएको नेतृत्वमा डा. बद्री केसी नै किन?

एनआरएनएको नेतृत्वमा डा. बद्री केसी नै किन?

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका प्रत्यासी डा. बद्री केसीको टिम घोषणा आयोजना गरिएको एउटा पत्रकार सम्मेलनमा एकजना पत्रकारले जिज्ञासा राखे–तपाईंले एनआरएनएको १० करोड हिनामिना गर्नुभयो भन्ने आरोप छ नि !’

प्रश्नको उत्तर दिँदै डा. केसीले भने, ‘म २० वर्षभन्दा बढी भयो, गैरआवासीय नेपाली संघमा प्रतिबद्ध भएर काम गरेको। यसको पैसासँग तुलना हुनसक्दैन। मैले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाण ल्याउनुस्, आजकै मितिदेखि पदबाट राजीनामा गर्छु।’

चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरूबीच हुने आरोप-प्रत्यारोप नयाँ होइन। यो अनौठो पनि होइन। अनि उम्मेदवारहरूमाथि आरोप लगाउने वा आरोपहरू सिर्जना गर्ने परम्परा पुरातनै हुन्।

अहिले एनआरएनएको चुनाव उत्कर्षमा छ। त्यसैले अध्यक्ष पदका उम्मेदवार डा. केसीमाथि अध्यक्ष पदका अरू उम्मेदवार वा अरू समहूले आरोप लगाउनु अनौठो भएन।

बाहिर आएका तिनै आरोपको एउटा अंश त्यहाँ पत्रकारले सुनाएका हुन्।

तर, चुनावमा मतदान गर्ने व्यक्ति भने यस्ता आरोपबाट सचेत हुनु जरुरी छ। किनभने नेपालीमा एउटा उखान छ नि, ‘नखाएको विष लाग्दैन !’

तर, जर्मनी तानाशाह हिटलरका सञ्चार मन्त्री गोवेल्स भन्ने गर्थे, ‘झुटलाई हजारपल्ट जनतासमक्ष दोहर्‌याउने हो भने त्यो सत्य पनि लाग्नसक्छ।’ लाग्नु वा हुनुबीचमा फेरि धेरै फरक अर्थ हुन्छ।

अहिले गोवेल्स शैलीमै डा. बद्रि केसीलाई बदनाम गर्ने अभियानमा केही समूह लागेको प्रस्ट देखिन्छ। दुई वर्षअघि चीनको उहान सहरबाट कोरोना संक्रमण महामारीको रूपमा संसारभरि फैलिएपछि यसको असर नेपालमा पनि पर्‌यो। अमेरिका र युरोपजस्ता आधुनिक तथा सुविधासम्पन्न स्वास्थ्य सेवा भएको ठाउँमा लाखौं मानिसले ज्यान गुमाए।

यस्तो अवस्थामा नेपाल जस्तो कमजोर स्वास्थ्य सुविधा भएको देशको हालत के हुने थियो ? एकछिन कल्पना गरौं ।  डा‍. केसीलगायत एनआरएनएको तत्कालीन नेतृत्वले प्रवासमा बसेर आफ्नो देशका नागरिकलाई बचाउन सहयोगको हात अगाडि नबढाएको भए ?

त्यतिबेला नेपाली राजनीतिज्ञ कारोनाबाट आफ्नो जनतालाई बचाउने भन्दा पनि आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न विश्व स्वास्थ्य महासंघ (डब्ल्यूएचओ) को ‘गाइड–लाइन’ लाई वेवास्था गर्दै नेपाली जनतालाई सडकमा उतार्न उद्यत थिए अस्पतालमा अक्सिजनको अभाव थियो, न कोरोना जाँच गर्ने यन्त्र नै थिए। औषधी त टाढाको कुरा, महामारीका बेला दुई वचन मिठो बोल्ने नेतृत्व पनि थिएन।

यति संवेदनशील अवस्थामा अध्यक्ष कुमार पन्त र डा. केसीलगायत एनआरएनएको नेतृत्वले आँट नगरेको भए, स्वदेशमा बसोबास गर्ने नेपाली मात्र होइन, विदेशमा वैदेशिक रोजगारीका लागि आएका नेपाली दाजुभाई, दिदीबहिनीको हालत के हुनेथियोरु त्यो तपाईंहरूले सहजै अनुमान लगाउन सक्नुहुन्छ।

दोस्रो लकडाउनमा नेपाली अस्पतालमा धमाधम मान्छे मरिरहँदा आवश्यक पर्ने अक्सिजनदेखि कन्सन्ट्रेटर विदेशबाट पठाउने कामको नेतृत्व नै एनआरएनएले गरेको थियो। अहिले कुल आचार्यको समूहले कोरोना महामारीका बेला एनआरएनएको नेतृत्वले केही गरेन भनेर गोवेल्स शैलीमा जुन किसिमको प्रोपोगाण्डा गर्दैछ, त्यो आफैमा हास्यास्पद तथा लाजमर्दो छ।

वास्तवमा एनआरएनएको सक्रियतालाई बुझेर नै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले सहकार्यको हात अगाडि बढाएको हो। आइएलओले विदेशमा रहेका श्रमिक नेपालीको राहत, उद्धार तथा पुनस् स्थापनाका लागि दुई किस्तामा एनआरएनएलाई ५–५ करोड गरेर १० करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरको थियो। एनआरएनएले यो अभियानको नेतृत्व गर्ने जिम्मा संस्थामा पारदर्शिता रुचाउने डा. केसीलाई दिएको हो। अहिले कुल आचार्यको टिमले डा. केसीलाई १० करोड खायो भनेर आरोप लगाइरहेको कुरा नै यही हो।

यही कुरालाई स्पष्ट पार्दै मंगलबार डा. केसीले भने, ‘पहिलो झुट त, आइएलओले पूरै १० करोड हामीलाई दिइसकेको छैन। त्यो किस्तामा आउने पैसा हो। अब नआइसकेको पैसा पनि एड्भान्समा खायो भनेर भन्नु पर्‌यो।’

डा. केसीको नेतृत्वमा प्रवासमा अफ्ठेरोमा परेका नेपालीको राहत, उद्धार तथा पुनस् स्थापनाका लागि यही ‘फण्ड’ बाट काम हुँदै आएको सर्वविदितै छ। बीचमा संयुक्त अरब इमिरेट्स (यूएई)मा त्यहाँ तोकिएका प्रतिनिधिले आर्थिक अनियमितता गरेको भन्दै संघमा उजुरी परेपछि डा. केसीले तत्कालै छानवीन कमिटी गठन गरेर दोषीमाथि कार्यवाही गरेको तथ्य सबै सामू प्रष्ट छ। यस्तो अवस्थामा चुनावका बेला तथ्य तोडमोड गरेर डा. केसीलाई बदनाम गराउन खोज्छ भने त्यो, उनीहरुकाे केटाकेटीपन हो।

एनआरएनएमा विगत दुई वर्षको कामको मूल्यांकन गर्दा, एउटा तथ्य सबैले स्वीकार्ने पर्छ– कोरोना महामारीका कारण कुमार पन्त र उनको टिमले प्रतिबद्धताअनुरुप काम गर्न नसकेको पक्कै हो। तर, महामारीको गम्भीयर्तालाई मनन गर्दा यो दुई वर्षमा एनआरएनएले गरेको मानवीय कार्य नेपाल सरकारले गरेभन्दा कुनै हिसाबमा कम छैन।

विगतमा एनआरएनएलाई ‘ठग’ र ‘चालु’ हरूको संस्था भन्ने व्यक्ति पनि यतिबेला एनआरएनएको मानवीय कार्य देखेर चकित परेका छन्। नेपाल जस्तो अस्थिर राजनीतिक भएको देशमा एनआरएनएको महत्व के रहेछरु हिजोआज उनीहरू नै बखान गर्दै हिँडिरहेका छन्।

वास्तवमा अहिलेको ठूलो बहस भनेको एनआरएनएको नेतृत्व कसले गर्ने भन्ने नै हो ? अहिले एनआरएनएमा अध्यक्षका तीन जना प्रतिस्पर्धी छन्, डा.बद्रि केसी, कुल आचार्य र रवीना थापा।

सबैका आ–आफ्नो कमी–कमजोरी र बलियो पक्ष होलान। तर, डा. केसी अध्यक्षका किन पनि बलियो उम्मेदवार हुन् भने उनमा लोभ छैन। उनी संस्थामा पारदर्शीता रुचाउने मान्छे हुन्।

एनआरएनएको वर्तमान नेतृत्वमा कुमार पन्तको उपाध्यक्ष बनेका डा.केसीले संस्थालाई पारदर्शी बनाउन खेलेको भूमिका आफैमा सह्रानीय छ। उनी मध्यपूर्वमा काम गर्ने नेपालीलाई युरोप तथा अमेरिका जस्ता विकसित राष्ट्रका प्रतिनिधि सरह इज्जत र सम्मान दिन पछाडि नहट्ने उम्मेदवार पनि हुन्। अबको २१ औं सताब्दीमा युवा तथा महिलाको प्रतिनिधित्व बिना संस्था चल्न सक्दैन भन्ने उनले राम्रोसँग बुझेका छन्।

व्यक्तिगत रूपमा भन्दा पनि संस्थागत रूपमा नेपालमा लगानी भित्र्याउनुपर्छ भन्ने उनको सोच उच्च देखिन्छ। उनी एनआरएनएमा आवद्ध भएपछि युरोप र अमेरिकाका गैरआवासीय नेपालीले मात्र होइन, खाडीमा बसेर श्रम बेचिरहेको नेपालीले पनि आर्थिक लाभ उठाउन सक्नुपर्छ भन्ने सोच राख्छन्।

उनको सोच र प्रतिवद्धता गैरआवासीय नेपालीको अभियानलाई सशक्तढंगले पारदर्शी रूपमा अगाडि बढाउने देखिन्छ। त्यसैले उनी अमुक राजनीतिक पार्टीको कुरा गर्दैनन्, न झण्डा बोकेर हिँड्ने कुराकै पैरवी गर्छन्। उनको व्यवहारमा स्पष्टता देखिन्छ। शालीनता छ। त्यसैले डा. केसीको उम्मेदवारी ती व्यक्तिहरूलाई बढी चुभेको हुनुपर्छ, जो पार्टीको झोला बोकेर गैरआवासीय नेपालीको चुनाव लड्न हिँडेका छन्।