एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसीले मंगलबार उम्मेदवारी घोषणा गर्ने

एनआरएनए अध्यक्षका प्रत्यासी डा. बद्री केसीले मंगलबार उम्मेदवारी घोषणा गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्वको लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। डा. केसीले ५ अक्टुबर मंगलबारका दिन काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्शनमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेका हुन्।

यसअघि विभिन्न मिडियामार्फत अध्यक्षमा उम्मेदवारी दिने बताएपनि डा. केसीले आफ्नो टिमसहित उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित सशक्त टिम निर्माण गरेका डा. केसीले पत्रकार सम्मेलनमार्फत आगामी दुई वर्षे कार्यकालका लागि आफ्ना कार्य योजना सार्वजनिक गर्ने उनको सचिवालयले जनाएको छ।

डा. केसीले उपाध्यक्षका लागि हेम राज शर्मा (यूके), महेश कुमार श्रेष्ठ (जापान),डिबी क्षेत्री (ओमन) र धर्मराज अधिकारी (अष्ट्रेलिया)लाई अफ्नो टिममा लिएका छन्।

यस्तै महिला उपाध्यक्षमा यसमिन बेगम सैयदले (साउदी अरब) र युवा उपाध्यक्षमा क्षेत्रबाट रोशन थापा (अफ्रिका) डा. केसीको टिममा परेका छन्।

यसैगरी अमेरिकी क्षेत्रबाट वर्तमान कार्यसमितिमा सचिवको जिम्मेवारी निर्वाह गरेका गौरीराज जोशी डा‍.केसीको टिमबाट महासचिवमा उम्मेदवारी दिने भएका छन्।

एक महिला अनिवार्यसहितको ४ जना सचिव पदका उम्मेदवारहरुमा रामशरण सिम्खडा (यूके), चिरन्जीबी घिमिरे (क्यानाडा), ओम गुरुङ (जापान) र महिलातर्फ राधिका (टिका)  गुरुङ (हङकङ) रहेका छन्।

कोषाध्यक्ष पदमा बेल्जियमका लोकप्रसाद दाहाललाई उनले आफ्नो टिममा समावेश गरेका छन्। दाहाल वर्तमान कार्यसमितिमा सह–कोषाध्यक्षको जिम्मेवारीमा छन्।

यस्तै महिला सह(कोषाध्यक्षमा अमेरिकाबाट यमुना भट्टराई ‘टिम बद्री’ मा परेकी छिन।

यस्तै, महिला संयोजकमा बेलायतबाट संगिता मरहठ्ठा र युवा संयोजकमा आरल्याण्डबाट मिलन छन्त्याललाई डा। केसीले आफ्नो टिममा अघि सारेका छन्।

आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा दशौं विश्व सम्मेलन हुँदैछ । नेतृत्व चयनका लागि अनलाइनबाट मतदान हुनेछ।

अध्यक्ष पदका लागि अमेरिकाबाट रविना थापा र बेलायतबाट कुल आचार्यले पनि उम्मेदवारी घोषणा गरेका छन्।