एनआरएनएमा ‘डमी’ को पात्र त बन्ने होइनन्, कुल आचार्य?

एनआरएनएमा ‘डमी’ को पात्र त बन्ने होइनन्, कुल आचार्य?

दुई वर्षअघि कुमार पन्तसँग चुनाव लड्दा कुल आचार्यको तामझाम हेर्न लायक थियो। उनको तामझाम देखेर चुनावअघि नै धेरैले उनलाई अध्यक्ष घोषित गर्न भ्याइसकेका थिए। तर, आफ्नो कल्पना विपरित पन्तसँग चुनाव हारेपछि उनी गैरआवासीय नेपालीको अभियानबाट यसरी पलायन भए, विगत दुई वर्षयता उनको भूमिका न कहिकतै देखियो, न सुनियो नै।

तर, गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन तालिका नजिकिँदै जाँदा आचार्य पुनः जुरमुराएका छन्। यसबीच संघको कार्यक्रममा खासै चासो नराखेका आचार्य अहिले गैरआवासीय नेपालीको अभियानमा ‘रचनात्मक’ भन्दा पनि ‘विध्वन्सात्मक’ भूमिकामा देखा परेका छन्।

विगत दुई वर्ष नेपाल मात्र होइन, विश्व नै कोरोनाको महामारीबाट थलियो। यतिबेला नेपाल जस्तो न्यून आय भएको मुलुकका दाजुभाई, दिदीबहिनीको अवस्था निकै नाजुक भयो। आफ्ना सन्ततीलाई सहयोग गर्न मध्यपूर्वलगायत एनआरएनएको सम्पूर्ण नेतृत्व ‘ज्यानको बाजी’ हत्केलामा राख्दै आर्थिक तथा भौतिक रूपमा बाहिर निस्किए।

यतिबेला न कुल आचार्यको भूमिका सकारात्मक थियो, न उनको टिमको नै। अझ उनले केही समयअघि पत्रकारहरूसँग भएको भर्चुअल बैठकमा एनआरएनएको वर्तमान नेतृत्वले कोभिड–१९ को महामारीमा राम्रोसँग काम नगरेको भन्दै जग हसाउने काम गरे।

कुमार पन्तसँग झिनो मतले पराजित भएपछि एनआरएनएको वर्तमान नेतृत्वसँग राख्ने गरेको ‘इगो’ उनको भनाइ र गराइ दुवैबाट प्रस्ट हुन्छ।

‘आफू नेतृत्वमा भए मात्र सबै ठिक, नभए सबै खराब’ देख्ने उनको बानीले यतिबेला एनआरएनए आफ्नो स्थापनाकालयता सबैभन्दा आलोचित बनेको छ। डा.उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र शेष घले हुँदै भवन भट्टसम्म संघको नेतृत्व हस्तान्तरण हुँदा यतिविधि भाँडभैलो देखिएको थिएन।

तर, पराजित मानसिकता बोकेका आचार्यलगायत उनको टिमले नेतृत्व हत्याउने नाममा परराष्ट्र मन्त्रालयमा उजुरी हालेर जुन भाँडभैलो गर्‍याे, यसले एनआरएनएको छवीलाई नेपालीमाझ धुमिल पार्न कुनै कसर बाँकी राखेको छैन। यस कुरामा आचार्य र उनको टिमको जति विरोध गरेपनि कम हुन्छ। किनभने आचार्यले नै परराष्ट्रमा हालेको उजुरी जायज ठहर गरिसकेका छन्।

नेपाल सरकारलाई ‘चुनाव रोक’ भनेर उजुरी हाल्न लगाउने र आफै अध्यक्षको प्रत्यासी बन्ने उनको ‘दोहोरो चरित्र’ को पनि यतिबेला आलोचना भइरहेको छ।

कुनैबेला आचार्यको क्षमतादेखेर एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायत अन्य अध्यक्षले थुप्रै महत्वपूर्ण जिम्मेवारी सुम्पिएका थिए। तर, संघको अस्तित्वलाई नै नामेट पार्ने तथा विदेशमा दुःख गरेर बसेका नेपालीहरूको साझा चौतारीको रूपमा विकसित हुँदै गएको एनआरएनएमा हस्तक्षेप गराउन नेपाल सरकारलाई गुहार्ने आचार्य र उनको टिमको कार्यशैली घोर आपत्तिजनक छ। उनको यो कार्यले सम्भवतः महतोलगायत सबै पूर्वअध्यक्षलाई दुःखी बनाएको हुनुपर्छ।

आचार्य यतिबेला गैरआवासीय नेपालीको अभियानमा लगभग ‘एक्लै’ परिसकेका छन्। दुई वर्षअघि उनको अभियानलाई ‘दिलोज्यान’ ले सहयोग गरेकी रवीना थापा यसपालिको चुनावमा उनकै ‘प्रतिद्धन्द्धी’ को रुपमा उभिनु यसको प्रमाण हो। रवीनाले आउँदो अक्टोबरमा आयोजना हुने एनआरएनएको चुनावमा अध्यक्ष पदका लागि सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेकी थिइन। चुनाव उठ्ने पत्तो पाएर नेपाल आएका आचार्यले उनलाई राजनीतिक रूपले रोक्ने हरसम्भव प्रयास गरेका थिए। तर, उनले कसैको प्रभाव र दबाबमा आफूले उम्मेदवारी नछोड्ने घोषणा गरेपछि आचार्य एक्लिएका थिए।

‘टिम रविना’ को चुनावी अभियानबाट हौसिएका केही प्रतिनिधिले त एनआरएनए चुनावको अन्तिम मनोनयन दर्ता हुँदासम्म कुल आचार्य रवीना थापाको चुनावको ‘क्याम्पेनर’ बन्ने ठोकुवासमेत गरेका छन्। यस्ता विषय चुनावका लागि मसला बनेपनि हिजो आफूसँग हिँडेका पदाधिकारी आज किन छुटे? त्यो कुल आचार्यले मनन् गर्न जरुरी देखिन्छ।

भड्किलो भाषण गरेर वा कसैलाई आरोप लगाउँदैमा र संस्थालाई बदनाम गराएर चुनाव जितिन्न भन्ने उदाहरण कुमार पन्तसँग भोगेको पराजयले प्रमाणित गरिसकेको छ। यसपालि पनि यही रणनीति आचार्य र उनको टिमले अख्तियार गरेको देखिन्छ। तर, एनआरएनएमा धेरै पानी बगिसकेको छ। अहिले महिला तथा युवाहरूको सहभागिताले एनआरएनएलाई थप बलियो बनाएको छ।

नयाँ भिजनसहित पढेलेखेका युवाको सहभागिताले आचार्यलाई गाह्रो पर्ने पक्का छ। बेलायत र अमेरिकामा आफ्नै समर्थकले चुनाव जित्दा पनि भाँडभैलो गर्न लगाउने आचार्य र उनको टिमको भूमिका देखेर सबै जना चकित बनेका थिए। अझ, बेल्जियममा ‘विदेशी गुण्डा’ प्रयोग गरेर मतदान स्थल नै बिथोल्ने प्रयास झन् आपत्तिजनक बनेको थियो। उनीहरूको यो भूमिका देखेर एनआरएनएमा ‘बाँदरे प्रवृत्ति’ भित्रिन लागेको भन्दै धेरैले चिन्ता व्यक्त गरेका थिए।

कुल आचार्य र उनको टिमले एनआरएनएमा भ्रष्टाचार भएको जतिसुकै आरोप लगाएपनि वर्तमान नेतृत्वले आर्थिक पारदर्शीताका लागि उठाएको कदमको अहिले चौतर्फी प्रसंसा भइरहेको छ। यस्तो अवस्थामा उनले एनआरएनएमा भ्रस्टाचार भयो भन्नु दिउँसै रात पारे जस्तै हो।

जेहोस् आचार्यले यी तमाम कमिकमजोरीका बीच दुई वर्षअघि झैं ठूलै तामझामका बीच आइतबार ‘होटल याक एण्ड यति’ मा पुनः अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन्। उनले घोषणा सभामा एनआरएनएविरूद्ध उजुरी हाल्ने व्यक्तिलाई आफ्नो टिममा राखेर आफ्नो मनसाय व्यक्त गरिसकेका छन्। उनको यो हर्कतले गैरआवासीय नेपालीहरूको गरिमासँग जोडिएका व्यक्तिलाई कित्ताकाट गर्न सहज भएको छ। यदी यसो भएमा घोषणा सभालाई आकर्षक बनाउन उनले राखेको आफ्नो ‘डमी’ जस्तै एनआरएनए चुनावमा उनको अवस्था भयो भने, कसैले आश्चर्य नमान्दा हुन्छ।