चुनावको मिति सर्दैन : निर्वाचन समिति

चुनावको मिति सर्दैन : निर्वाचन समिति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव तोकिएकै मितिमा हुने भएको छ। चुनावको तयारीमा निर्वाचन समिति लागिसकेकाले १ दिन पनि पर नसर्ने संघका एक उच्च अधिकारीले प्रवास खबरलाई जानकारी दिए।

यसैबीच संघको निर्वाचन समितिले पनि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ । चुनाव अनलाइनमार्फत आगामी २० अक्टोबरमा हुने निर्वाचन समितिले जनाएको छ।

यसअघि संघले १० महाधिवेशन अन्तर्गत हुने चुनावका लागि अधिवक्ता लिलामणि पौडेलको संयोजक्त्वमा ७ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । चुनावको आन्तरिक तयारी गत जुलाइदेखि नै भएको निर्वाचन समितिको भनाइ छ ।

केहीदिनअघि संस्थापनले निर्वाचन प्रतिनिधि चयनमा धाँधली गरेको भन्दै तीन जनाले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि मन्त्रालयले हस्तक्षेप गर्दै निर्वाचनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । जसले चुनाव हुने–नहुने भन्ने विषयमा अन्यौलता थियो।

परराष्ट्रले चालेको उक्त कदमको एनआरएनए भित्रै व्यापक विरोध भएको छ।

निर्वाचन समितिले भने परराष्ट्रले राखेको चासोको उचित सम्बोन्धन गर्दै चुनाव तोकिएकै मितिमा गराउने स्पष्ट पारेको छ । ‘जुलाइमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ,’ निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

समितिले संघको इतिहासमै पहिलो पटक अनलाइन प्रणालीमार्फत गर्न लागिएको निर्वाचन निष्पक्ष हुने समेत दावी गरेको छ । मतदान निष्पक्ष बनाउन नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वातन भेन्डर छनोट भइसकेको र प्रवाधिकलगायत अन्य विविध पूर्व तयारी समेत भइसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार मतदानका लागि अनुहार प्रमाणीकरण (सेल्फी) अनिवार्य गरिएको छ । महाधिवेशन प्रतिनिधि (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नु पर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्नेछ । मतदातालाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको निर्वाचन समितिको भनाइ छ ।

‘अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ । निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ । यसतर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ,’ निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनलाई सफल बनाउन समितिले आइटी विज्ञसहितको उप समिति बनाएर आफ्नो तयारी र काम अगाडि बढाएको बताइएको छ ।

परराष्ट्रले राखेको चासोको विषय सम्बोधन गर्न नेतृत्वले गर्ने र अन्य आवश्यक काम अघि बढिसकेकाले निर्वाचन समिति तोकिएकै समयमा चुनाव गराउन प्रतिबद्ध रहेको बताइएको छ।

विज्ञप्तिको पूर्णपाठ