परराष्ट्रले एनआरएनएको स्वतन्त्र अस्तित्वमाथि हस्तक्षेप गर्‍याे : यज्ञराज सुवेदी

परराष्ट्रले एनआरएनएको स्वतन्त्र अस्तित्वमाथि हस्तक्षेप गर्‍याे : यज्ञराज सुवेदी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका निर्वतमान अध्यक्ष यज्ञराज सुवेदीले परराष्ट्र मन्त्रालयले एनआरएनएको आगामी निर्वाचन स्थगीत गर्ने निर्देशन दिएर संस्थाको स्वतन्त्र अस्तित्वमाथि चुनौती दिएको आरोप लगाएका छन्।

उनले एनआरएनए स्वतन्त्र निकाय भएको र संस्थाको आफ्नै विधान हुँदाहुँदै चुनावमा प्रतिनिधि छनोटको सामान्य विवादलाई लिएर निर्वाचन स्थगीत गर्न दिइएको निर्णय गलत भएको बताए। उनले यसलाई संस्थामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।

उनले एनआरएनएको वर्तमान कार्यसमितिले संस्थागत सुधारको लागि विशेष अधिवेशन गरेर नयाँ विधान संसोधन गरेको स्मरण गराउँदै त्यही विधानको आधारमा चुनाव हुन लागेको जानकारी दिए।

‘संघको संसोधित विधान कार्यान्वयन हुन नदिने चलेखेल हो,’ आगामी निर्वाचनमा एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकका उम्मेदवार सुवेदीले आरोप लगाए, ‘अहिले विभिन्न एनसीसीको विषयमा परराष्ट्रले छानवीन गरेको छ, यसमा सम्बन्धित देशका कार्यसमिति नै जिम्मेवार छन्।’

उनले परराष्ट्र मन्त्रालयको हस्तक्षेपले भविस्यमा एनआरएनएको शाखाको चुनाव सम्बन्धित देशको दूतावासमा गएर गर्नुपर्ने नजिर बस्ने चिन्ता जनाए।

‘यस्ता झिना मसिना कुरामा परराष्ट्र मन्त्रालय अल्झिने हो भने एनसीसीको चुनाव प्रत्येक देशमा भएको दूतावासमा गरे भइहाल्यो नि। किन संस्थाको स्वतन्त्रता स्विकार गर्नुपर्‍याे,’ उनले भने।

उनले परराष्ट्रको हस्तक्षेपले सम्बन्धित देशमा भएका एनसीसीको रेखदेख रिपोर्ट लिने काम पनि राजदूतवासले गर्नुपर्ने अवस्था सिर्जना हुने बताए।

‘यदि त्यसो नगर्ने हो भने अहिले चुनाव रोक्न निर्देशन दिनु भनेको अनावश्यक हस्तक्षेप हो,’ उनको भनाइ थियो, ‘यसले एनआरएनएलाई मात्रै नभएर देशलाई पनि बेफाइदा गर्छ।’