एनआरएनएलाई राजनीतिकरण गर्न खोजिनु दुःखदायी : रवीना थापा

एनआरएनएलाई राजनीतिकरण गर्न खोजिनु दुःखदायी : रवीना थापा प्रवास खबरसँग अन्तरर्वाता दिंदै रवीना

काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचत स्थगित गर्न परराष्ट्र मन्त्रालयले गरेको पत्रचारप्रति अध्यक्षकी प्रत्यासी रवीना थापाले दुःख व्यक्त गरेकी छिन्।वर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा रहेकी थापाले एनआरएनएमा राजनीतिकरण भएको आरोप लगाउँदै यो संस्थाको हितमा नहुने बताइन्।

‘डेमोक्र्याट’ उम्मेदवारको रुपमा थापाले आगामी निर्वाचनमा अध्यक्ष पदमा उठ्ने घोषणा एक महिनाअघि गरेकी थिइन।

हाल संस्थामा थापासहित डा. बद्री केसी र कुल आचार्यले पनि अध्यक्ष पदमा मनोनयन दिने सम्भावना प्रबल थियो। डा. केसी पनि वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। आचार्य भने गत चुनावमा अध्यक्षका प्रत्यासी थिए। उनी कुमार पन्तसँग पराजित भएका उम्मेदवार हुन्।

आचार्यकै समूहले चुनावमा प्रतिनिधि चयन गर्दा धाँधली भएको भन्दै परराष्ट्रमा उजुरी दर्ता गरेका थिए।

आचार्यको कार्यप्रति असन्तुष्टी जाहेर गर्दै थापाले सरकारी समाचार संस्था रासससँग भनिन्, ‘निर्वाचनको अन्तिम तयारी रहेको अवस्थामा एक्कासी निर्वाचन स्थगनको सूचना आउनु विडम्बनापूर्ण हो। विशुद्ध सामाजिक सेवामा समर्पित संस्थालाई राजनीतिकरण गर्न खोजिनु दुःखदायी छ।’

परराष्ट्रले विवादको टुँगो नलाग्दासम्म निर्वाचन स्थगित गर्न आइतबार संघलाई पत्र पठाएको थियो।

परराष्ट्रको निर्देशनपछि संघको आगामी अक्टोबर २३–२५ मा हुने भनिएको १० औँ महाधिवेशन अनिश्चित बनेको हो। परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानबिन गर्न नेपाल सरकारले गठन गरेको सो समितिले आफ्नो प्रतिवेदन पेश नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी प्रक्रिया स्थगन गरिएको जनाइएको छ।

परराष्ट्रको पत्र आएपछि आइतबार नै संघका पदाधिकारी (आइइएस) को बैठक बसी यस विषयमा सरकारसँग संवाद गर्ने निर्णय गरेको थापाले जानकारी दिएकी छिन्।