नौ बुँद्धे प्रतिबद्धतासहित एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा भट्टराईको दावी

नौ बुँद्धे प्रतिबद्धतासहित एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा भट्टराईको दावी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजकमा ९ बुँदे प्रतिबद्धतासहित मलेसियाबाट हरिप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष रहेका भट्टराई दुई दशकदेखि मलेसियालाई कमर्थलो बनाएर व्यापार–व्यवसाय गरिरहेका छन्।

उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय उप–संयोजक पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

घोषणा सभामा उनले ‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवा पुस्ताको सहभागिता र श्रमिक मैत्री एनआरएन मेरो सरोकार’ भन्ने नारा अघि सारेका छन्।

भट्टराईले एनआरएन अभियानमा थप काम गर्न, श्रमिक मैत्री एनआरएनए बनाउन र एसिया प्यासिफिक क्षेत्रका नेपालीका मुद्धालाई स्थापित गर्न आफ्नो प्रमुख उद्धेश्य रहेको बताए।

आफैले १५ लाख नेपाली रुपैयाँ जम्मा गरेर कल्याणकारी कोष बनाउनदेखि, एनआरएनए मलेसियाको आफ्नै कार्यालय स्थापना गर्न, कोभिडको समयमा ६३ सयभन्दा बढिलाई राहत तथा उद्धार मात्र नभएर ७० भन्दा बढि जेलमा रहेका नेपालीलाई स्वदेश फर्काउन आफू सफल भएको भट्टराईको दावी थियो।

एनआरएनए मलेसियाको सातौं महाधिवेशन भब्य रूपमा मनाउँदै सर्वसम्मत नेतृत्व चयन गरेको मलेसियाले उदाहरणीय एनसीसीको नाम कमाएको थियो। त्यही अनुभवलाई एसिया प्यासिफिक उप–संयोजकमार्फत एनआरएनएमा काम गर्ने भट्टराईको भनाई छ। ‘कोभिडका कारण धेरै काम अधुरा छन्, अव डिआरसी पदमा रहेर श्रमिकका मुद्धालाई एनआरएनएमार्फत समाधान गर्न मैले उम्मेदवारी घोषणा गरेको हुँ’ भट्टराईले भने।

एनआरएनएमा एसिया प्यासिफिक उप–संयोजकमा दुई वटा पद हुन्छ, जसमा मलेसियाबाट नै विश्व राईले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्। यद्यपि सहमतिमा मलेसियाले उप–संयोजक पद पाउनु पर्ने भट्टराईको दावी छ। ‘एनआरएनए मलेसियाको वर्तमान कार्यसमितिले मलाई सर्वसम्मत उप–संयोजकमा उठ्न अनुरोध गरिसकेको र एसिया प्यासिफिक देशमा रहेका एनआरएनए साथीहरूले सहयोग गर्ने प्रतिवद्धता जनाएकाले मेरो विजय सुनिश्चित छ’ भट्टराईले तर्क राखे।

एसिया प्यासिफिक क्षेत्रमा रहेका अधिकांश संघ–संस्था, सदस्य र अग्रजको साथ रहेकोले आफ्नो जित सुनिश्चित भएको भट्टराईको दावी छ।

भट्टराईका ९ बुँदे प्रतिवद्धता

१.एनआरएनए एसिया प्यासिफिकका हरेक गतिविधिलाई श्रमिकमैत्री बनाइने छ।

२.नेपाल र एसिया प्यासिफिकको सम्बन्ध श्रममैत्री मात्र नभएर व्यपारिक तथा आर्थिक सम्बन्ध विस्तार गर्न पहल गरिने छ।

३.कोभिडका कारण रोजगार गुमाएका वा समस्यामा परेका, विरामी तथा जेलमा रहेका नेपालीलाई निःशुल्क स्वदेश पठाउन, रोजगारका लागि पहल गर्न तथा सहयोगका लागि पहल गरिने छ।

४.नेपालीका लागि प्रमुख श्रम गन्तब्य मलेसिया, जापान, दक्षिण कोरियालगायत देशमा नेपाली श्रमिकलाई फाइदा पुग्ने गरी दुई देशबीचको सम्बन्ध स्थापित गराइ रोजगारी सहज बनाउन पहल गरिने छ।

५.विदेशमा रहेका नेपाली नियोगसँग एनआरएनएको सहकार्यलाई थप बलियो बनाइने छ।

६.कोभिड–१९ महामारीको समस्या र यसले पार्ने मनोवैज्ञानिक असरका बारेमा चेतनामुलक कार्यक्रम, स्वास्थ्य शिविर तथा परामर्शका कार्यक्रम गरिने छ।

७.नेपालको पहिचान रहने नेपाली कला तथा संस्कृतिलाई विश्व सामु चिनाउन गैरआवसीय नेपाली संघको विश्व सञ्जालमार्फत आवश्यक पहल गरिने छ।

८.श्रमिक गन्तब्य देशमा जाने तथा आउने हवाई टिकट सस्तो र सुलभ बनाउन पहल गरिने छ।

९.एनआरएनएमा युवा तथा दोश्रो पुस्ताको आकर्षण बढाउने कार्यक्रम गर्नुका साथै विदेशमा नेपाली भाषा, कला–संस्कृति जगेर्नाका लागि अभियान चालिने छ।