एनआरएनए युवा उपाध्यक्षमा स्वतन्त्र प्रताप शाहको उम्मेदवारी

एनआरएनए युवा उपाध्यक्षमा स्वतन्त्र प्रताप शाहको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा घट्दो युवा चासोलाई सम्बोधन गर्न स्वतन्त्रप्रताप शाहले युवा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

यसअघि युवा संयोजकमा दुई पल्ट लडेका शाहले प्रवास खबरसँग आफ्नो उम्मेदवारीको विषयमा जानकारी दिँदै भने, ‘एनआरएनएको अवको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ। म लामो समयदेखि युवाको पक्षमा आवाज उठाउँदै आइरहेको व्यक्ति हो। सबै युवाहरूले मलाई दबाब दिएपछि उम्मेदवारी दिने निर्णय गरेको हुँ।’

एनआरएनएमा पछिल्लो समय युवाहरूको उपस्थिति कमजोर बन्दै गइरहेको छ। संस्थामा युवाहरूको आकर्षण बढाउन थुप्रै पदाधिकारीले योजनासहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

शाह भन्छन्, ‘हिजो पनि युवाको नाममा भाषण ठोक्ने काम मात्र भयो, व्यवहारमा लागु भएको देखिएन। अव युवाका लागि सोच्ने बेला आएको छ।’

धनगढी निवासी शाहले अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन्। उनी सफल युवा व्यवसायी पनि मानिन्छन्।

शाह यसअघि संघको आठौँ र नवौँ विश्व सम्मेलनमा युवा संयोजक पदको प्रतिस्पर्धी थिए। दुवै पल्ट झिनो अन्तरले पराजित भए। एनआरएनएमा युवाको नेतृत्व हुनुपर्छ भन्ने थोरै पदाधिकारीमा उनी पर्छन। यसपालि उनी विगतको हारलाई उल्टाएर युवा नेतृत्व सम्हाल्ने अभियानमा छन्।

‘मलाई साथीभाईले नै उठ्न प्रेरित गरेको हुनाले यसपालि नतिजा मेरो पक्षमा हुनेमा ढुक्क छु,’ उनले भने।

एनआरएनएमा यसअघि युवा उपाध्यक्ष रहने प्रावधान थिएन। तर, संघले विधान संसोधन गर्दै आगामी कार्यकालबाट युवा र महिला उपाध्यक्ष रहने व्यवस्था गरेको छ।

युवा उपाध्यक्ष पदका लागि नेदरल्याण्डबाट वर्तमान युवा संयोजक हिमाल गुरुङ र मध्यपूर्व युवा संयोजक राज रेग्मीले पनि उम्मेदवारी घोषणा गरेका छन्।