एनआरएनए निर्वाचन : उद्यमी काफ्लेको युरोप क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी

एनआरएनए निर्वाचन : उद्यमी काफ्लेको युरोप क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी

काठमाडौं। विदेशमा बसोबास गर्ने नेपाली युवाको हक–अधिकारलाई लिएर लामो समयदेखि वकालत गर्दै आएका युवा उद्यमी रमेश काफ्लेले गैरआवासीय नेपाली संघ (एनआरएनए) काे युरोप क्षेत्रीय युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्।

विदेशमा बसोबास गर्ने दोस्रो पुस्ताका युवा नेपालीलाई उद्यमी बन्न उत्प्रेरणा दिँदै आएका काफ्ले विगत १३ वर्षदेखि डेनमार्कमा क्रियाशील छन्। उच्च शिक्षाका लागि सन् २००८ मा डेनमार्क पुगेका उनी अर्को वर्षदेखि नै गैरआवासीय नेपालीको अभियानमा सक्रिय भए।

युरोपको युवा संयोजकमा उनको उम्मेदवारीलाई लिएर धेरैले सकारात्मक प्रतिक्रिया जनाएका छन्। सामाजिक संस्थामार्फत लामो समयदेखि समाजसेवामा सक्रिय उनी देश विकाशमा युवा पुस्ताको महत्वपूर्ण योगदान रहने बताउँछन्।

तनहुँमा जन्मिएका काफ्ले हाल चितवनको भरतपुरमा बसोबास गर्छन। उनले डेनमार्कबाट वाणिज्य तथा व्यापारशास्त्रमा स्नाकोत्तर गरेका छन्। प्रवास खबरलाई आफ्नो उम्मेदवारीको विषयमा जानकारी दिँदै उनले भने, ‘युवासँग हातेमालो गर्दै अघि बढ्ने हो भने जस्तोसुकै चुनौती पार लगाउन सकिन्छ। एनआरएनएमा युवा नेतृत्व अगाडि बढ्नु पर्छ। यसका लागि युवा लक्षित कार्यक्रम जरुरी छ।’

काफ्ले सन् २०१५–०१७ कार्यकालमा एनआरएनए डेनमार्कको सचिव पदमा नियुक्त थिए। उनले २०१९ देखि आइसीसीको सदस्य पदमा रहि काम गर्दै आइरहेका छन्। उनले नेपालमा हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
उनको अहिलेको नारा नै छ, ‘कनेक्टिङ युथस् विथ कज’। उनी युवालाई उत्प्रेरित गर्दै उनीहरूभित्र रहेको रचनात्मक सोचमार्फत समाज परिवर्तन गर्न सकिने कुरामा विश्वस्त देखिन्छन्।

‘एनआरएनएमा युवा सहभागिता न्यून छ। नेतृत्व तहसम्म सोच्ने वर्ग त लगभग शून्य नै छ। युवावर्गले पनि नेतृत्व लिनुपर्छ भन्ने मेरो एजेण्डा हो,’ काफ्ले भन्छन्।

उनी विदेशमा रहेका दोस्रो पुस्ताका नेपालीलाई देशप्रति आकर्षित गर्न दशैं, तिहार जस्ता चाडपर्व मनाएर, नेपाली भाषा मात्र सिकाएर नहुने बताउँछन्। यसका लागि विदेशमा हुर्केका दोस्रो पुस्ताका नेपालीलाई देशसँग जोड्न उनीहरूलाई पनि लगानीमा सरिक गराउनु पर्ने उनको भनाई छ। ‘यसले उनीहरूमा मातृभूमिप्रतिको दायित्वबोध हुनेछ,’ उनले भने।

एनआरएनएको १० औं महाधिवेशन आउँदो अक्टोबरमा हुँदैछ।