एनआरएनए प्रतिनिधि र परराष्ट्र सचिव पौडयालबीच छलफल

एनआरएनए प्रतिनिधि र परराष्ट्र सचिव पौडयालबीच छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि र परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालबीच छलफल भएको छ।

छलफलमा अध्यक्ष पन्तले गैरआवासीय नेपाली संघले नेपाल सरकारसँगको सहकार्यमा हालसम्म भएका कामका बारेमा स्मरण गराउँदै आगामी दिनमा पनि सोही किसिमको सहकार्यको अपेक्षा राखेको बताए। अध्यक्ष पन्तले नेपालमा एनआरएन डेभलप्मेन्ट फण्डमार्फत नेपाल भित्र्याउन लागेको १० अर्बको लगानीका लागि सहज वातावरण निर्माणका लागि नेपाल सरकारले सहजिकरण गरिदिन आग्रह गरे।

फण्डमार्फत छिट्टै आइपीओ जारी गर्ने र विदेशमा रहेका साना लगानीकर्ताहलाई पनि लगानीको अवसर प्रदान गर्ने अध्यक्ष पन्तले जानकारी गराए। लगानीका लागि केही नीतिगत व्यवस्था आवश्यक भएकोले त्यसतर्फ पनि अध्यक्ष पन्तले ध्यानाकर्षण गराए। अध्यक्ष पन्तले आगामी अक्टोबरमा आयोजना गर्न लागिएको संघको १० औं महाधिवेशनबारे जानकारी दिँदै त्यसका लागि सरकारको तर्फबाट पनि उच्च स्तरीय आयोजक समिति गठन गर्न अनुरोध गरे । गैरआवासीय नेपाली नागरिकता र ऐन २०६४ को संशोधनको कार्यान्वयन सम्बन्धमा पनि अध्यक्ष पन्तले सचिव पौड्यालको धयानाकर्षण गराए।

भेटमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल सरकारले विदेशमा रहेका नेपालीको लगानीलाई विशेष प्राथमिकता दिएर भित्र्याउनुपर्नेमा सचिव पौडेलमार्फत सरकारको ध्यानाकर्षण गराए। यस्तै लामो समयदेखि गैरआवासीय नेपाली नागरिकताको विषय विचाराधीन अवस्थामा रहेकोले त्यसको कार्यान्वयनका लागि बारम्बार ध्यानाकर्षण गराएपनि माग सम्बोधनमा भइरहेको ढिलाईबारे जानकारी गराए।

परराष्ट्र मन्त्रालय नै फोकल मन्त्रालय भएकोले सहकार्य र समन्वय अपरिहार्य रहेको उनले बताए। गैरआवासीय नेपाली ऐन २०६४ मा गैरआवासीय नेपालीका लगानी सम्बन्धि व्यवस्था गरिएको तर, त्यसमा केही संशोधन आवश्यक भएकोले त्यसको लागि परराष्ट्र मन्त्रालयले समन्वय गरिदिन आग्रह गरे। यस्तै सो अवसरमा संघका पूर्व अध्यक्ष जीवा लामिछानेले ‘एनआरएन फण्ड’ले सबै गैरआवासीय नेपालीहरुलाई लगानी गर्ने अवसर प्रदान गर्न सक्ने गरि स्थापना गरिने र यस फण्डले भविष्यमा ठूलो आकार लिने भएकाले सरकारले यसका लागि सहजीकरण गरिदिन आग्रह गरे।

यस्तै एनआरएन डेभलेप्मेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्राईले हालसम्मको प्रगतिबारे जानकारी गराउँदै फण्ड परिचालन गर्न सहयोग गर्ने केही नीतिगत निर्णय गर्नपर्ने सुझाव व्यक्त गरे। सो अवसरमा सचिव पौडेलले गैरआवासीय नेपाली संघ समग्र आवासीय र गैरआवासीय नेपालीहरुका प्रेरणाको स्रोत हुनपर्ने र यसले मातृभूमिको हकहितको लागि ठूलो योगदान पुर्याउन सक्ने उल्लेख गरे। यसलाई सबैको साझा संस्थाको रुपमा अघि बढाउन पर्ने सुझाव दिँदै उनले सरकारले गर्नसक्ने सबैखाले सहयोगका लागि तयार रहेको बताए। यस्तै आसन्न १० औं महाधिवेशन सफल पार्न मन्त्रालयले विगतमा जस्तै सहयोग गर्ने र त्यसका लागि उच्च स्तरीय आयोजक समिति गठन गर्ने जानकारी दिए।