मध्यरातमा बेलायतको सडकमा एनआरएनको तमासा,लण्डन प्रहरीको हस्तक्षेप (भिडियो)

मध्यरातमा बेलायतको सडकमा एनआरएनको तमासा,लण्डन प्रहरीको हस्तक्षेप (भिडियो)

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिका हुँदै बेल्जियम सरेको झगडाको दृश्य बेलायतमा पनि सरेको छ।

सुसंस्कृत नेपाली बसोबास गर्ने भनेर चिनिएको बेलायतमा बिहीबार राती अपहरणदेखि गाली गलौजको दृश्य देखा पर्‍याे। अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपालीलाई एक कदम पछि छोड्दै बेलायतका गैर आवासीय नेपालीले बाटोमै हर्कत गरेका छन्। नेपाली–नेपालीबीचको झगडा रोक्न बेलायतको प्रहरी नै घटनास्थल पुग्नु परेको थियो।

एनआरएनए एनसीसी बेलायतको अध्यक्षका लागि यसपालि रोजीना प्रधान राई, प्रेम गाह्रा मगर र दिपक श्रेष्ठ उठेका थिए। यसअघि ‘तेस्रो पार्टी’ ले निर्वाचन गराउने सहमति बनेपछि गत सोमबार बेलायती कम्पनी ‘च्वाइस भोटिङ’ मार्फत अनलाइनबाट मतदान भएको थियो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

सन् २०२१–२३ कार्यकालका लागि भएको चुनावमा महेशराज कडेंलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। चुनावको मत परिणाम सार्वजनिक गर्नुअघि निर्वाचन समितिले अध्यक्षका तीन जनै प्रतिस्पर्धीसँग हस्ताक्षर माग गरेको थियो।

यसमा रोजीना र दिपकले हस्ताक्षर गरेपनि प्रेमले हस्ताक्षर गर्न नमानेको निर्वाचन आयुक्त कडेंलले बताएका छन्। ‘प्रेम जीले हस्ताक्षर नगरेकै कारण भेन्डर (च्वाइस भोटिङ) ले हामी (निर्वाचन समिति) लाई मत परिणाम उपलब्ध गराएन। यसकारण हामीले तय समयमा चुनावको नतिजा घोषणा गर्न नसकेका हौं,’ निर्वाचन आयुक्त कडेंलको दावी छ।

बिहीबार प्रेम गाह्रा मगर पक्षले यही कुरालाई मुद्धा बनाउदै लन्डनको सडकमा नाराबाजी गरेका थिए। प्रेम पक्षले निर्वाचन समितिविरूद्ध अश्लील शब्द प्रयोग गरेपछि घटनास्थलमा प्रहरीको आगमन भएको थियो।

रोचक कुरा, यो घटनामा एनआरएनए आइसीसीका सल्लाहकारद्धय कुल आचार्य र विश्व पण्डितको संलग्नताले मुद्धालाई थप पेचिलो बनाएको छ।

‘कुल आचार्य र विश्व पण्डित जस्ता हस्ती नै सडकमा देखिएपछि बेलायतको एनआरएनए अभियानमा जोडिएका हामी जस्ता थुप्रै नेपालीलाई लज्जाबोध भइरहेको छ,’ एक एनआरएनए अभियन्ताले प्रवास खबरसँग भने।

यस्तै, निर्वाचन समितिका सदस्य–सचिव कर्ण शाहीले यो घटनामा आफूलाई अपहरण गर्न खोजिएको आरोप लगाएका छन्। उनले बिहीबार राती सामाजिक सञ्जालमा स्टाट्स लेख्दै भनेका छन्, ‘मध्यरातमा समाजका जिम्मेवार भनिएका व्यक्तिको उपस्थिति तथा उहाँहरूको उक्साहटमा करिब दुई दर्जन बढी व्यक्तिको झुण्डले उनीहरूले भनेको ठाउँमा तर मेरो लागि अपरिचित स्थानमा गएर उनीहरूले चाहे अनुसार (निर्वाचन नतिजा) घोषणा गर्न जान नचाहेपछि गाली गलौच गर्ने, मलाई लगभग बन्धन जस्तै गराउने काम भएकोले म ज्यादै दुःखी छ!’

उनले यो घटनामा लेविसाम बोरुग प्रहरीले आफूलाई उद्धार गरेकोमा धन्यबाद ज्ञापन गरेका छन्। उनले भनेका छन्, ‘हामी सबैमा सद्धबुद्धिले बास गरोस्।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्