एनआरएनए युरोपको नेतृत्व हाँक्ने कृष्णको चाहना

एनआरएनए युरोपको नेतृत्व हाँक्ने कृष्णको चाहना

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलन नजिकिँदै छ। सम्मेलन आगामी २३ अक्टोबरदेखि  २५ सम्म हुँदैछ। अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन्। जुलाइभित्रै अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरिसक्नुपर्ने केन्द्रको निर्देशन छ।

केन्द्रको नयाँ नेतृत्वका लागि हुने तीन महिनापछिको चुनावी गर्मी विस्तारै चढ्दै गएको छ। आइसीसी तथा क्षेत्रीय नेतृत्वका आकांक्षीहरु सतहमा देखिन थालेका छन्। खुलेरै दाबेदारी नदिए पनि आन्तरिक रुपमा जोडघटाउमा उनीहरुको दौडधौप देखिन्छ।

यसै क्रममा संघको युरोप क्षेत्रीय नेतृत्वमा कृष्ण तिम्लसेनाले चाहना राखेका छन्। अहिले उपसंयोजक समेत रहेका कृष्णको चाहानालाई युरोपवासी नेपालीले स्वभाविक ठानेका छन्। उनी सम्भावना बोकेका एनआरएनए अभियान्ता मानिन्छन्।

आउँदो कार्यकालमा उनको गन्तव्यबारे प्रवास खबरले जिज्ञाशा राखेको थियो। जवाफमा कृष्ण भन्छन्, ‘अहिले नै चुनावको एजेण्डा बोकेर हिँड्नु मलाई राम्रो लाग्दैन । किनभने एनसीसीको अधिवेशन समेत नसकिएको अवस्था छ । यति भन्दै गर्दा आउँदो कार्यकालमा के–कसो गर्ने भनेर योजना नै नबनाएको त होइन,अब संयोजकमा उम्मेदारी दिने सोचमा छु। आखिर उपसंयोजकपछि जाने भनेको स्वतः संयोजकमा नै हो।’

सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका कृष्णले संघमा शालिन र कर्मशील अभियान्ताको छवि बनाएका छन्। यसबीचमा उनले कार्यसमिति सदस्य हुँदै एनआरएनए यूकेको उपाध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए । उपसंयोजक भएर काम गर्दा उनी युरोपवासी मात्र नभइ सिंगो डायस्पोराका गैरआवासीय नेपालीको मनमा बस्न सफल भएका छन्।

त्यसो त उनको आउँदो कार्यकालका लागि केन्द्रीय सह–कोषाध्यक्ष पदमा चर्चा नचलेको होइन । केन्द्रीय नेतृत्वमा दावेदारी गर्नेहरुले उनलाई आफ्नो टिममा मिलाएर लैजान प्रस्ताव समेत गरेका थिए । तर, उनले अहिले नै केन्द्रीय नेतृत्वमा जान चाहेनन्।

भन्छन्,‘सामाजिक हित र संस्थालाई मजबुत बनाउन जहाँ बसेर सेवा गरेपनि हुन्छ । मलाई अझै केही समय युरोपवासी नेपाली माझमै बसेर काम गर्ने इच्छा जाग्यो । त्यसपछि मात्रै केन्द्रतीर जाँदा उपयुक्त हुन्छ होला।’ यसो गर्दा आफू थप जिम्मेवार बन्ने कृष्णको बुझाइ छ।

संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने अवसर जुटाउन पहल गर्नुपर्ने उनको धारणा छ।

चुनावी एजेण्डा भने आफूले समएपछि अघि सार्ने बताए । ‘अहिले नै यसो गर्छु उसो गर्छु चाँही भन्दिन,’ कृष्णले भने, ‘संस्थामा जिम्मेवारी सधै मेरो प्रथामिकतामा रहन्छ।’

यो पनि पढ्नुहोस्

उनै कृष्ण तिम्लसेनाको प्रवास खबरले यसअघि गरेको प्रोफाइल – लण्डनमा छन् कर्मवीर कृष्ण