एनआरएनए बेल्जियमको नेतृत्व हाँक्न अनुभवी उम्मेदवार म हुँः अनुजा प्रधान

एनआरएनए बेल्जियमको नेतृत्व हाँक्न अनुभवी उम्मेदवार म हुँः अनुजा प्रधान

ब्रसेल्स। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा सक्रिय व्यक्तिका लागि मात्र होइन, बेल्जियममा बसोबास गर्ने नेपालीका लागि पनि नौलो नाम होइन, अनुजा प्रधान।

उनी विगत १४ वर्षदेखि एनआरएनएको अभियानसँग जोडिएकी छिन्। हाल एनआरएनएको राष्ट्रिय सम्वन्य समिति (आइसीसी) को मनोनित सदस्यमा पनि कार्यरत छिन्। उनले बेल्जियममा रहेर सचिवदेखि उपाध्यक्षसम्मको कार्यभार ग्रहण गरिसकेकी छिन्।

करिब डेढ दशकदेखि बेल्जियममा होटल तथा रेस्टुराँन्टमा सक्रिय अनुजा एनआरएनए बेल्जियमको अध्यक्ष पदको बलियो प्रत्यासी मानिन्छिन्। हुनत उनलाई यो अवसर अघिल्लो कार्यकालमै जुटिसकेको थियो। तर, अग्रजहरूको आग्रहलाई स्वीकार गर्दै उनले त्यतिबेला अध्यक्ष पदको दावेदारी दिएकी थिइनन्।

उनको उम्मेदवारीलाई लिएर त्यतिबेलै एउटा समझदारी बनेको थियो, आउँदो कार्यकालका लागि उनलाई सघाउँने। यसैले पनि उनी यसपालि आफूलाई अध्यक्षको स्वाभाविक उम्मेदवार ठान्छिन्।

प्रवास खबरसँगको कुराकानीमा उनले भनिन्, ‘यसपालि म पछाडि हट्दिन्। अघिल्लो कार्यकालमै म अध्यक्षको प्रत्यासी थिएँ तर, अग्रजहरूको आग्रह स्वीकार गर्दै नाम फिर्ता लिएको थिएँ।’

एनआरएनएमा पछिल्लो समय राजनीति निकै हावी भएको छ। संघभित्र कांग्रेस र कम्युनिस्टको खेमा बलियो बन्दै जाँदा संघमा पनि यदाकदा विवाद चुलिने गर्छ। नेपाली राजनीतिको बाँछिटा संघमा नभित्रियोस् भन्नेमा अनुजा निकै गम्भीर छिन्। उनी संघ विदेशमा बसेका नेपाली तथा श्रमिकको हकहितमा कसरी लगाउन सकिन्छ भन्ने कुरामा केन्द्रीत हुनुपर्ने बताउँछिन्।

भन्छिन्, ‘राजनैतिक हिसाबले म डेमोक्रयाट हुँ। तर, मेरो सिधा कुरा भनेको एनआरएनएमा राजनीति हावी हुनुहुँदैन। यो विशुद्ध सामाजिक संस्था हो। त्यसैले यहाँ राजनैतिक रंङ मिसाउन हुँदैन।’

उनी एनआरएनए देशभित्र परोपकारी काम गर्ने संस्था भएको हुनाले सरकारसँग मिलेर काम गर्नुपर्ने बाध्यता भएको बताउँछिन्। तर, यसैको आधारमा संघलाई कुनै अमुक राजनीतिक दलको नजिक भएको भन्न नमिल्ने उनको भनाइ छ।

‘हामी विशुद्ध सामाजिक संस्था हौं। त्यसैले कुनै–बेला सरकारसँग नजिक भएर काम गर्नुपर्ने हुन्छ। यसका लागि राजनीतिक पार्टीका मान्छेसँग सहयोग र समन्वय बनाउनुपर्ने हुन्छ। तर, यो भन्दैमा एनआरएनए कुनै पार्टीबाट निर्देशित भएर चल्छ भन्ने होइन,’ उनी भन्छिन्।

उनले आफ्नो उम्मेदवारी पनि कसैको पक्ष वा पार्टी विशेषको नहुने स्पष्ट पार्न खोजिन्। उनले आफू एनआरएनए अभियानको ‘प्रोडक्ट’ भएको हुनाले सबैको साझा उम्मेदवार बन्ने बताइन्। ‘म कुनै राजनैतिक पार्टी,गुट–उपगुट नभइ एउटा अभियानको हिस्सा हुँ,’ उनले स्पष्ट पार्न चाहिन्।

उनले आफूसँग लामो समय एनआरएनए अभियानमा जोडिएर काम गरेको अनुभव भएको बताउन बिर्सिनन्। त्यसैले आफू अध्यक्षको स्वाभाविक उम्मेदवार भएपनि राजनीतिक आँडमा संस्थामा खासै योगदान नभएका उम्मेदवारलाई अघि सारिन लागेकोमा आपत्ति जनाइन्। ‘उमेरका आधारमा म काँचो भएपनि अनुभवका आधारमा मभन्दा सक्षम व्यक्ति कोही छैन,’ उनको दावी छ। एनआरएनए बेल्जियमको चुनाव २५ जुलाइमा हुँदैछ।

उनले एनआरएनए बेल्जियमको छविलाई माथि उकास्ने र एनआरएनएको एक उदाहरणीय राष्ट्रिय समिति (एनसीसी) का रुपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन्।

यस्तो छ अनुजाको ९ बुँदे चुनावी घोषणापत्र

गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई बर्षे कार्यकालमा निम्नासारको कार्य गर्ने प्रतिबद्धता तपाईहरु समक्ष लिएर आएकी छु।

१. गैरआवासीय नेपाली संघ बेल्जियमको अभियानको सुरु कालदेखि संलग्न रहेका अग्रजहरुको सरसल्लाहमा एनआरएनए बेल्जियको लागि अल्पकालिन तथा दिर्घकालीन विशेष कार्यक्रम तय गरिनेछ ।

२. विदेशमा हुर्किदै गरेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघको अभियानमा जोड छुट्टै संरचनाको स्थापना गरेर उनीहरुलाई नेपाल र नेपालीको हितमा परिचालन गरिने छ ।

३. बेल्जियममै जन्मिएर नेपाली भाषा बोल्न र लेख्न नजान्नेहरुको लागि गैरआवासीय नेपाली संघ बेल्जियमले विशेष अभियान संचालन गर्ने छ।

४. बिभिन्न कारणले बेल्जिमयमा आइपुग्नु भएका नेपालीको लागि आवश्यक कानूनी परार्मशको लागि निशुल्क कानुनी सेवा केन्द्रको स्थापना गरिने छ।

५. गैरआवासीय नेपाली संघले यसअघि देखि उठाउदै आएका मुद्दाहरु, नागरिकताको निरन्तरता, नेपालमा लगानी, परोपकार लगायतका काम एनआरएनए बेल्जियम दृढ भएर उभिने छ र तिनीहरुको कार्यान्वयनको लागि सहयोग र सहकार्य गरिनेछ ।

६. बेल्जियममा रहेका नेपालीहरुलाई एउटै छानमुनी राख्ने उद्देश्यले नेपाली घरको स्थापनाका लागि पहल गरिने छ।

७. मर्दा पर्दा नेपाली चाहिन्छन भन्ने नेपाली भावना अनुरुपमा विदेशमा अलपत्रमा परेका विभिन्न कारणले दुःख पाएका नेपालीहरुको सहयोगार्थ एक आपतकालीन कोषको स्थापना गरिने छ‍।

८. नेपालमा आइपर्ने प्राकृतिक विपतको लागि आवश्यक सहयोग गर्नको लागि स्थायी फण्डको समेत व्यवस्था गर्न पहल गरिने छ । त्यस्तो फण्ड एनआरएनए फाउण्डेशनमार्फत नेपालमा सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन विशेष परोपकारी योजना ल्याउनेछु ।

९. बेल्जिमामा रहेका दोस्रो पुस्ताका नेपालीहरुको सीप र ज्ञानलाई नेपालको सम्वृद्धिमा लगाउने उदेश्यले बेल्जिममा रहेका विभिन्न पेशामा रहेका विज्ञहरुको छुट्टै संरचनाको स्थापना गरिने छ ।