एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्यालको उम्मेदवारी

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्यालको उम्मेदवारी

माल्टा। लामो समयदेखि माल्टामा बसोबास गर्दै आएका भुवन अर्यालले गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

सन् २०२१–२३ सम्मको कार्यकालका लागि हुन लागेको निर्वाचनमा आफू अध्यक्ष पदको योग्य उम्मेदवार भएको अर्यालले दावी गरेका छन्।

अर्याल विगत ४ वर्षदेखि माल्टामा बसोबास गर्दै आइरहेका छन्। उनले विगतमा पदमा नरहँदा पनि आफूले माल्टामा रहेका नेपालीको सुख, दुःखमा काम गरेको र एनआरएनएको अभियानसँग जोडिएर यसलाई थप प्रभावकारी बनाउने उद्धेश्य राखेको बताए।

प्रवास खबरसँग आफ्नो उम्मेदवारीको विषयमा प्रकाश पार्दै उनले भने, ‘पछिल्लो समय माल्टामा नेपालीको संख्यात्मक बृद्धिदर द्रुतगतिमा बढ्दा समस्या पनि बढेका छन्। माल्टामा बस्ने नेपालीको सबै समस्यासँग जुध्नका लागि मैले अध्यक्ष पदको उम्मेदवारी दिने घोषणा गरेको हुँ।’

उनले माल्टामा बसोबास गर्ने सबै नेपालीको समस्या आफ्नो भएको पनि बताउन बिर्सिएनन्। भने, ‘म कर्म र इमान्दारीतामा विश्वास गर्छु। एनआरएनलाई यहाँ रहेका सबै नेपालीको साझा र सवल मञ्च बनाउने मेरो उद्देश्य रहनेछ।’

उनले आफू टिमवर्कमा विश्वास गर्ने भएको हुँदा सबैको राय–सल्लाहले चल्ने स्पस्ट पारे। ‘म ठूलो–ठूलो आश्वासनमा विश्वास गर्ने भन्दा पनि काम गरेर देखाउने कुरामा विश्वास गर्छु। त्यसैले चुनाव अगाडी आश्वासनको पुलिन्दा बाध्नेभन्दा पनि आफ्नो क्षमताले भ्याएसम्म काम गरेर देखाउने प्रयासमा छु,’ उनले भने।

अर्याल माल्टाका पूर्वसचिव रहिसकेका छन्। यसअघि माल्टाको अध्यक्षमा रेमलाल खनाल (रेम्स) ले पनि अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए।