नियमित हवाइ उडान सूचारु गर्न एनआरएनएको नेपाल सरकारलाई आग्रह

नियमित हवाइ उडान सूचारु गर्न एनआरएनएको नेपाल सरकारलाई आग्रह

काठमाडौं । कोरोनाको बहाना बनाउँदै विगत एक महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प बनाएको नेपाल सरकारलाई अविलम्ब हवाइ उडान सूचारु गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ।

आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन हुँदा मध्यपूर्वी देशमा कार्यरत हजारौ नेपाली श्रमिक अलपत्र परेका छन् भने विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपाली समस्यामा परेका छन्।

गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाको प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह गरेको छ। ‘पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएपनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकोले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न समेत यो संघ अनुरोध गर्दछ’, संघद्धरा जारी विज्ञप्तीमा भनिएको छ।

विदेशबाट नेपाल फर्कदा नेपाली दूतावासबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजीकरण गरिदिन समेत संघले सरकारसँग अनुरोध गरेको छ। ‘यात्रा सम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न समेत संघ सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गर्दछ’, विज्ञप्तीमा उल्लेख छ।