जिम्मेवारीको अर्को नाम जीवा

जिम्मेवारीको अर्को नाम जीवा

समयलाई पाँच वर्ष पछाडि धकेलेरै हेरौँ न आज । किन ? किनकी आज हामी जीवा लामिछानेको स्केच गर्दैछौँ । पाँच वर्षअघि एउटा किताब सार्वजनिक भयो,‘सर्सर्ती संसार’ । किताब मन पराइयो । जीवाले लेखेकै कारण किताब रुचाइएको होइन । त्यो विशुद्ध नियात्रा थियो । संसारका विभिन्न देशहरुको भ्रमण गर्दा लेखकले संगालेको अनुभूतीको दस्तावेज थियो त्यो । किताब पढ्दा पाठकले लेखकसँगै त्यही देश पुगेको अनुभूती गर्नु किताबको बलियो पक्ष थियो।

हजुर ! हामी साहित्यिक चेतका जीवाको चर्चा गर्दैछौँ ।

एकपटक उनले कुनै बेला देखेका बग्रेल्ती सपनाका कुरा गरौँ । के बन्ने सपना देखेनन् उनले ? मध्यम वर्गीय किसान परिवारका जीवाको पुख्र्यौली थलो खासमा कास्कीको अर्मला हो। उनका अग्रज चितवनको पदमपुर बसाइ सरेपछि यतै जन्मिए जीवा । गाउँकै सामान्य सरकारी स्कुल राष्ट्रिय प्राथमिक विद्यालयबाट पढाइ प्रारम्भ गरेका उनले टाँडीस्थित नेपाल माध्यमिक विद्यालयबाट ०३९ मा एसएलसी दिए। अब्बल विद्यार्थी थिए,प्रथम श्रेणी हासिल गरे।

स्कुल पढ्दै थिए । सेतो एप्रोन अनि काँधमा स्टेस्थोस्कोप भिरेको डाक्टर देख्नासाथ आफू पनि त्यस्तै बन्छु भन्ने उनको सपना थियो । तर, स्कुले पढाइ सकिनासाथ जब उनी काठमाडौं हानिए,सपना बदलियो । अब उनले इन्जिनियर बन्ने सपना देख्न थाले । ढिलो किन गर्ने १ उनी लगत्तै पुल्चोक इन्जिनियरिङ क्याम्पस हाजिर भए । त्यसपछि पढ्न बेलायत पुग्दा पनि सिभिल इन्जिनियर बन्ने अनि देश फर्किएर सरकारी जागिर गर्ने उनको सोच थियो । देखेको यो सपना उनले पूरा गर्न सक्थे । तर, गरेनन्।

यसको जवाफ खोज्न एकपटक जीवासँगै रुस पुग्नै पर्छ । त्यो पनि आजभन्दा झण्डै ३५ वर्षअघि । त्यो बेला जीवा सरकारी छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न सोभियत संघ पुगेका थिए । १९९२ मा मस्कोको मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तरको डिग्री लिए।

भइदियो के भने ठ्याक्कै त्यहीबेला सोभियत संघ टुक्रिएर १५ वटा देश बन्यो । रुस खुला बजार अर्थतन्त्रमा प्रवेश गर्यो । त्यहाँ विद्युतीय सामानको उत्पादन हुन्थ्यो । तर, बजारको माग अनुसार उत्पादन हुँदैनथ्यो । उत्पादित सामान पनि भद्घा । रुसी जनतामा अन्तर्राष्ट्रिय ब्राण्डका इलेक्ट्रोनिक सामान उपयोगको चाहना निकै उच्च थियो । यसको आभास जीवालाई पनि भयो । थोरै लगानी गरेर जीवाले विदेशबाट यस्ता सामान आयात गर्न थाले मस्कोमा ।

रहरले थालेको यो व्यवसाय फस्टाउँदै गयो । सोनी,पानासोनिक,क्यानोन, निकोन, जेभीसीलगायतका अन्तर्राष्ट्रिय कम्पनीले उनलाई पत्याउन थाल्यो । बजार ठूलो हुँदै गयो । व्यवसाय फस्टायो । अब के गर्ने ?,‘म साधारण परिवारबाट छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न गएको तर, व्यवसायी पो बन्न पुगेँ,’ जीवाको स्मृतिमा ती दिनहरु ताजा हुँदै गए,‘समयले साथ दियो आएको अवसरलाई च्याप्पै समात्नुपर्छ कि जस्तो लाग्यो,’ उनले प्रवास खबरसँग भने,‘अब मसँग दुईवटा बाटो थियो । पहिलो बाटो थियो,नेपाल फर्केर सरकारी जागीर गर्ने कि रुसमा देखेको अवसरको उपयोग गरेर व्यवसायी बन्ने ?’

जीवाले दोस्रो बाटो रोजे।

‘सुरुमा म र मेरो भाइ मिलेर व्यावसाय सुरु गरेका थियौँ,पछि यो व्यवसायमा हामीसँग रुसमै रहेका अरु नेपाली पनि मिसिन आउनुभयो,’ जीवाले सम्झिए,‘सहकार्य गरेर अघि बढ्यौँ ।’

व्यवसाय जम्दै थियो । त्यहीबेला उनलाई इन्जिनियरिङमै विद्यावारिधि गर्ने जाँगर पलायो । नियमित कक्षा लिनुनपर्ने,सुपरभाइजरले दिएको अनुसन्धानको जिम्मेवारी भने पूरा गर्नुपर्ने थियो । व्यवसाय पनि चल्दै थियो । तर, यसपटक जीवा दोधारमा परे । व्यवसायलाई निरन्तरता दिने कि उच्च अध्ययनलाई ? उनले पहिलो बाटो रोजे । इन्जिनियरिङमा विद्यावारिधि गर्ने सपना बीचमै हापेर व्यवसायमै आफूलाई केन्द्रित गरे। तर, उनलाई अहिले पनि त्यसमा पछुतो भने छैन्। व्यवसाय सफल भएकोले पनि सायद उनलाई यस्तो लाग्यो होला।

७३ वर्षसम्म राज्य नियन्त्रित अर्थतन्त्र रहेको रुसमा एकैचोटी खुल्ला अर्थतन्त्र सुरु भएपछि धेरै कुरा मिलेको थिएन । ग्लासनोस्त र पेरेस्त्रोइका (खुल्लापन र पुननिर्माण) ले त्यसबेला सोभियत संघलाई तरङ्गीत नै पार्यो।

कानूनीदेखि हरेक कुरा अस्तव्यस्त थियो । शान्ति सुरक्षामा समेत समस्या आएको थियो । ‘यस्ता समस्या पार गर्दै व्यवसाय अघि बढाउँदै गएका थियौँ। खुल्ला बजारको लागि रुसको बजारमा अपार सम्भावना थियो,’ जीवाले संघर्षका ती दिन सम्झिए,‘संयोगवस समयले साथ दिएर पनि होला हामीले त्यो अवसर छोप्यौं । छोटो समयमै हाम्रो व्यवसाय सफल भयो ।’

‘पढाइभन्दा पनि मानिसको भोगाइले धेरै कुरा सिक्ने हो । मैले रुसमा जुन अवसर पाएँ,सोहि अवसरलाई समाएर म व्यवसायमा लागेको हो,’ जीवाले सफलताको मन्त्र सुनाए,‘लगाव,मेहनत र इमान्दार भएर लाग्न सकेमा कुनै पनि काममा सफल हुन सकिन्छ।’

जीवा रुस जाने बेला सोभियत संघले नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न सहयोग गरेको थियो । इन्जिनियरिङ,डाक्टर,पत्रकार उत्पादनमा सहयोग पुर्याउन छात्रवृत्ति प्रदान गरेको थियो । अध्ययन सकेपछि धेरै जसो नेपाल नै फर्किन्थे । उक्त समय विदेशी नागरिकलाई रुसमा बस्न पाउने अनुमति थिएन । केहि नेपालीले रुसीसँग विहे गरेर बसेका थिए । पढ्न गएकाहरु जसरी पनि फर्किनै पर्ने थियो।

तर, जीवा न देश फर्किए न त रसियन सुन्दरीसँग लगनगाँठो नै बाँधे । उनी मस्कोमै बसे । व्यवसायमा आफ्नो सिक्का जमाए । तर, पनि स्कुले जीवनदेखि नै साहित्यप्रति देखिएको उनको लगावलाई भने व्यवसायले कहिल्यै थिचेन । यसैले त उनी व्यवसायी हुन कि सामाजिक अभियन्ता हुन कि साहित्यकार ? छुट्याउन मुश्किल छ।

व्यवसायी भए पनि उनी पैसा गन्दै बस्दैनन् । परिवार उनका लागि सबैभन्दा महत्वपूर्ण पाटो हो । यसैले परिवारलाई बढीभन्दा बढी समय दिने उनको स्वभाव शुरुदेखि नै रहयो । यसैले प्रत्येक वर्ष परिवारसँग घुम्न निस्कन्छन, कहिले देश कहिले विदेश । कहिले संस्थाको काममा कहिले व्यवसाय विस्तारका क्रममा त कहिले केवल घुम्नका लागि घुम्नकै लागि उनी हिँडिरहन्छन। नयाँ ठाउँ, नयाँ परिवेश, संस्कृति पनि बुझिने भएकाले घुम्न उनलाई औधी मज्जा लाग्छ।

उनका लागि बाहिरी संसार एउटा खुला विश्वविद्यालय जस्तै हो,जहाँबाट उनी सर्सर्ती संसार हेर्छन। आफूले हेरेको संसारको शब्दचित्र पाठकसमक्ष पस्किन्छन् । जति–जति उनी संसारको भूगोल नाप्दै हिँडछन, त्यति नै उनी आफूभित्रको साहित्यिक चेतलाई प्रस्फुटित गर्न सक्छन् । सायद विम्बसँग खेल्न उनलाई अलिक धक लाग्छ । यसैले उनले नियात्रा रोजे । त्यसमै आफूलाई सहज ठाने । नेपालका ५० भन्दा बढी जिल्ला र विश्वका पाँचै महादेशका एकसय भन्दा बढी मुलुक घुमिसकेका जीवाका लागि आफूले घुमेका थलोहरु पाठशाला जस्तै हुन । घुम्दै जान थालेपछि यसैले उनले दुई किताब लेखे । ‘सर्सर्ती संसार’ र ‘देशदेशावर।’

रत्ननगर नगरपालिका चितवनको वार्षिक मुखपत्र ‘नेपाल ज्योती’ मा निबन्ध प्रकाशित गरेर साहित्यको यात्रा शुरु गरेका थिए,जीवाले । यो ०३७ सालको कुरा हो।

खासमा उनको परिचय धेरै छ । तर, पछिल्लो समय विश्वको जुनसुकै कुनामा पुग्दा उनलाई धेरैले व्यवसायीभन्दा पनि साहित्यकारको रुपमा परिचय गराउँदा दङ्ग पर्छन् । साहित्यकारको रुपमा सम्मान पाउँदा हर्षित हुन्छन । यसको कारण पनि छ । किनकी व्यवसायिक सम्बन्धमा विभिन्न स्वार्थहरु जोडिएका हुन सक्छन् । तर, एउटा लेखकले पाठकबाट जुन प्रतिक्रिया पाउँछ त्यो स्वार्थरहित हुन्छ । त्यो भनेको एउटा पाठकले आफ्नो प्रिय लेखकलाई गर्ने माया हो । व्यवसायमा जस्तो त्यहाँ पैसाको हिसाब किताब हुँदैन । हुन्छ त केवल स्नेह । जस्तो कि केही दिन अघि चन्द्रागिरि पुगेका जीवालाई त्यहाँ भेटिएका केही व्यक्तिले ‘सर्सर्ती संसार’ र ‘देशदेशावर’ पढेको प्रतिक्रिया दिए । सम्मानको हात बढाए।

किताब लेख्न थालेपछि जीवालाई घुम्नका लागि झनै प्रेरित गरेको छ । अब बुझे हुन्छ,कुनै पनि बेला जीवाको अर्को किताब आउनसक्छ।

आफन्त र साथीहरुले कर नगरेको भए सायद उनी लेखक बन्ने पनि थिएनन् । आफूले घुमेका ठाउँको बारेमा सामाजिक सञ्जालमा लेख्ने र फोटो राख्दै गर्दा उनलाई त्यसरी लेख्नुभन्दा किताब लेखनमै जोड दिन थालिएपछि उनले लेखक बन्ने खतरा मोले । जीवाले लेख्ने रहर पूरा गर्दा नेपाली पाठकले गतिलो नियात्रा किताबको रुपमा पायो । कोभिडको कहरको बेला प्रकाशित पछिल्लो किताब ‘देशदेशावर’ को अनुमान गरिएभन्दा बढी विक्रि हुनुले पनि उनी प्रोत्साहित भएका छन् । खासमा व्यवसायी हुन् उनी तर, आफूले लेखेका किताब पाठकले मन पराइदिँदा त्यसलाई उनले सबैभन्दा ठूलो पुरस्कार मानेका छन्।

जीवा अब अर्को किताब लेखनको तयारीमा छन् । यो किताब नियात्रा हुनेछैन,संस्मरण हुनेछ । ‘सोभियत संघको विघटनसँगै २३ वर्षको अवधिमा मैले जसरी व्यवसाय शुरु गरेर विकास गरेँ,’जीवा भन्दैथिए,‘जुन खालको अनुभव संगाले त्यसलाई मैले संस्मरणको रुपमा वाहिर ल्याउन चाहन्छु ।’

यो पुस्तकमा रुस मात्र होइन विश्वभरबाट उनले लिएका अनुभवहरु पनि हुनेछन् । सँगसँगै उनका बाल्यकालका घतलाग्दा घटनाहरु पनि आफ्नो आगामी संस्मरणमा सामेल गर्ने उनको धोको छ । नियात्रा लेखिसके । संस्मरण लेख्दैछन् । अन्य कुनै विधामा पनि उनी हात हाल्दैछन ? जवाफमा जीवा बोले,‘अन्य विधामा कलम चलाउने विषयमा मैले अहिले सोचेको छैन।’

उनले आफ्नो बाबु आमाको सम्मानमा खेमलाल–हरिकला प्रतिष्ठान गठन गरेका छन । प्रतिष्ठानले साहित्यका क्षेत्रमा प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान प्रदान गर्ने गर्छ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगतसम्म पुर्याउनका लागि नेपाली साहित्यकृति अंग्रेजी र रुसी भाषामा अनुवाद गर्ने जाँगर पनि उनले चलाएका छन् । ‘सेलेक्टेड नेपाली पोयम्स’,‘सेलेक्टेड नेपाली लिरिकल पोयम,’ ‘सेलेक्टेड नेपाली एस्सेज’, ‘कारागार’ लगायतका कृतिहरु अनुवाद गरी प्रकाशन गरेर जीवाले नेपाली साहित्यलाई गुन लगाएका छन्।

एनआरएनएको यात्रा

२०४६ को जनआन्दोलनपछि प्रजातन्त्र पुर्नस्थापना भयो । यसले समाजमा खुलापन ल्यायो । विगतमा जस्तो विदेश जान कडाइ गर्ने नियम हट्यो । यसले वैदेशिक रोजगारमा संसारका विभिन्न मुलुकतिर जाने लहर सिर्जना भयो । यसअघि ब्रिटिस सेनामा भर्ती हुन र अध्ययनमा मात्रै विदेश जान्थे नेपालीहरु । सरकारले ल्याएको खुकुलोपनले नेपाली युवालाई संसारको कुना कुनासम्म पुर्यायो।

संसारका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीलाई किन संगठीत नगर्ने ? उनीहरुलाई एउटै छातामुनि गोलबद्घ किन नगर्ने ? विदेशमा रहेका नेपालीलाई एकजुट गरेर त्यसबाट प्राप्त हुने शक्तिलाई नेपालमा कल्याणकारी कामदेखि विकासका लागि लगानी गर्ने आधार किन तयार नगर्ने ? यसरी सोच्दै जाँदा एनआरएनएको पहिलो जग बस्यो । सुरुको दिनमा उपेन्द्र महतो, भिम उदासलगायत केही व्यक्ति मिलेर एनआरएनए जन्मियो । ‘हामी तीन÷चार जना मिलेर संस्था स्थापना गरेका थियौं, पछि अरु–अरु देशबाट पनि जोडिदै आउनुभयो,’ जीवा १८ वर्षअघिका ती दिन सम्झिदै थिए,‘सन् २००३ मा रोपेको विरुवा आज संसारभर विश्वको ८४ देशमा फैलिएको छ ।’

स्थापना भएको १८ वर्षमै संसारको कुना–कुनासम्म फैलिएको छ,एनआरएनए । अझ योभन्दा पनि महत्वपूर्ण कुरा विदेशमा बसे पनि देशको लागि केहि न केही त गर्नैपर्छ भन्ने जुन भावना विकास भयो त्यसमा एनआरएनएको स्थापनाले नै काम गरेको हो । तर, यो त्यति सजिलो यात्रा भने थिएन । ‘म आफै सस्थापक भएकोले विश्वभरी एनआरएनएको सञ्जाल बनाउने लक्ष्य थियो, ७/८ वर्षसम्म यहि काममा लागि विभिन्न देश भ्रमण गयौँ,’ जीवाले ती दिनहरु सम्झिए,‘डा उपेन्द्र महतोको नेतृत्वमा म साधारण सदस्य भएर काम गरेँ । पछि उपाध्यक्ष भए । अहिले विश्वव्यापी सञ्जालको पाटो पूरा भैसकेको छ ।’

सानो–सानो लगानी नेपाल भित्रिएपनि सामूहिक रुपमा लगानी भित्र्याउने काम भने एनआरएनएबाट सुरु भएको हो । सुरुमा एक अर्बको लगानी भित्र्याइएको छ । यो चानचुने कुरा थिएन । झन्डै ९ सय जनाको सामूहिक लगानी रहेको यो संस्थामा दुई लाखभन्दा बढी आइपीओको लागि माग छ । यो विश्वासको कुरा हो । स–सानो पूजीँलाई व्यवस्थित गरेर लगानी भित्र्याउन सकिन्छ है भन्ने उदाहरण हो यो,जुन एनआरएनएबाट सम्भव देखिएको छ । अब एनआरएनएको पहलमा झण्डै १० अर्बको लगानी नेपालमा भित्र्याउने प्रक्रिया सुरु भएको छ । यसले आशाको किरण छर्ने काम गरेको छ । किनकि नेपालमा गर्नुपर्ने कुरा धेरै छ । नेपालमा लगानी गर्ने वातावरण छ र लगानीको प्रतिफल पनि प्राप्त हुन्छ भन्ने विश्वासकै जगमा इन्फास्टक्चर डेभलपमेन्ट टिम गठन भएको छ,जसको नेतृत्व जीवा आफैले गरेका छन् ।

जीवाको काँधमा जिम्मेवारीका अनेकन डोका छन् । पछिल्लो समय एनआरएनएले ‘एनआरएन फाउण्डेसन’को स्थापना गर्यो । नेपालमा थप परोपकारी परियोजना संचालन गर्नका लागि जीवालाई नै जिम्मेवारी दिइएको छ । उनी फाउण्डेसनको संयोजक तोकिएका छन्।

झण्डै १० अर्ब रुपियाँको फण्डलाई पनि एनआरएनएले नेपालको विकासका लागि उपयोग गर्ने योजना बनाएको छ । यसमा पनि जीवाको भूमिका मह्त्वपूर्ण रहनेछ।
यस्तो लाग्छ,जिम्मेवारीको अर्को नाम हो,जीवा ।

जीवालाई थाहा छ, नेपालको श्रम वजारमा प्रत्येक वर्ष पाँच लाख मजदुरहरुको उत्पादन हुन्छ । तर, यहाँ ती मजदुरहरुलाई खपत गर्ने खालका ठूला उद्योग नभएकाले पनि नेपाली युवाहरु वैदेशिक रोजगारी बलियो विकल्पको रुपमा विकास भइरहेको हो । जीवा भन्छन,‘सूचना प्रविधिको यो युगमा तपाइसँग सीप छ भने अहिले संसारमा तपाईले जहाँ गएर पनि आफ्नो सीप बेच्न सक्नुहुन्छ ।’

जीवालाई जहिल्यै लाग्थ्यो आफू जहाँ बसेपनि आफ्नो परिवार,समाज र देशप्रतिको जुन कर्तव्य छ त्यसलाई पूरा गर्नुपर्छ । यो कर्तब्य उनले कहिले व्यवसायमार्फत पूरा गरिरहेका छन,कहिले साहित्यमार्फत त कहिले सामाजिक अभियन्ताको रुपमा ।

५४ वर्ष पार गरिसके जीवा । यसबीच उनी अध्ययनले इन्जिनियर भए । पेशाले व्यवसायीमा दरिए । अनि रुचीले साहित्यकार तथा सामाजिक अभियन्ता । सपरिवार जर्मनी बसेपनि जीवाको मन आफू जन्मिए हुर्किएको पदमपुरमै जान्छ।

किन ? किनकी जीवाको मन नेपाली हो नि त।