भ्रष्टाचारको कल्पना पनि गर्दैनौँ, संस्थालाई बदनाम गराउन लेखाइने न्यूजको भर नपरौँ : कुमार पन्त

भ्रष्टाचारको कल्पना पनि गर्दैनौँ, संस्थालाई बदनाम गराउन लेखाइने न्यूजको भर नपरौँ : कुमार पन्त

काठामाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले केही व्यक्तिहरुले आफ्नो स्वार्थको लागि पत्रकारहरुको प्रयोग गरेर संस्थाको बदनाम गराउन खोजेको आरोप लगाएका छन् । उनले एनआरएनए एक विशुद्ध सामाजिक संस्था भएको बताउँदै आफूहरुले त्यहाँ बसेर भ्रष्टाचारको कल्पना पनि गर्न नस्कने दावी गरेका छन् ।

‘एनआरएनए एक विशुद्ध सामाजिक संस्था हो । यहाँ हामी सबै सामाजिक सेवा गर्नै जोडिएका हौैँ,’ संघले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले भने, ‘अनावश्यक आरोप लगाउँदै हाम्रो इमेज खराब गर्न लेखाइएका न्यूजको भरमा नपर्नुहोला ।’ श्रमिकको उद्धारको विषयलाई लिएर केही व्यक्ति तथा मिडियाले अफवा फैलाएर सिंगो संस्थाको बदनाम गर्न खोजेको उनको भनाइ छ।

कोरोना महामारीको चुनौतीकाबीच संघका विभिन्न संयन्त्रहरु परिचालित गरेर आफूहरुले श्रमिकलाई राहत बाँडेको उनले जानकारी गराए । दातृसंस्थाको सहकार्यमा राहत तथा उद्धारको लागि भएका खर्चहरु पारदशि भएको उनको भनाइ छ । ‘आर्थिक अनियमितता भयो भन्ने कुराहरु आएपछि हामीले छानविन समिति गठन गरेका थियौँ । रिपोर्टमा छानवीन भइरहेको छ । त्यसपछि मात्रै स्पष्टिकरणमा पुग्छौँ,’ उनले भने, ‘कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा त्यस्तो व्यक्ति संस्थामा रहँदैन । हामी निर्मम कारवाही गर्छौँ । यदी मैले गरेको रहेछु भने मलाई समेत साथिहरुले छोड्दैनन्, छोड्नुहुँदैन् ।’

अहिले आफूहरुलाई अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको बताउँदै यसले सकारात्मक सन्देश प्रवाह गरेको पन्तले उल्लेख गरे । संघलाई आइएलओ र आइओएमजस्तो अन्तर्राष्ट्रिय दातृ निकायले विश्वास गर्नु आफैमा उपलब्धिमुलक र ऐतिहासिक भएको उनको भनाइ छ ।

‘आइएलओले एनआरएनएलाई विश्वास गरेर श्रमिकका उद्धारको लागि पैसा दिएको हो । अहिले बारम्बार आइएलओको पैसामा भष्ट्रचार भयो भनिएको छ । संस्थालाई बदनाम बनाउन लेखाइएका न्यूज अङग्रेजीमा अनुवाद गरेर केही साथीहरु दातृनिकायमा समेत पुग्नु भएको छ रे भन्ने जानकारी पाएको छु । यो दुःखद हो ।’