एनआरएनएको आगामी निर्वाचन : युवा उपाध्यक्षमा स्वतन्त्र प्रतापको चाहना

एनआरएनएको आगामी निर्वाचन : युवा उपाध्यक्षमा स्वतन्त्र प्रतापको चाहना फाइल फोटो

काठमाडौँ । अहिले मार्च । अबको ठ्याक्कै ८ महिनापछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव हुनेछ। दशौँ विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने ८ महिनापछिको चुनावको रौनक भने अहिले नै देखिन थालेको छ।

अहिले विभिन्न देशमा रहेका एनसीसीको निर्वाचन समेत सुरु भइनसकेको अवस्था छ। तर, आइसीसीको नेतृत्वका लागि भने आकांक्षीहरुले भित्रभित्रै चुनावी तयारी थालेका छन्। श्रोतका अनुसार अहिले चुनावकै तयारीका लागि आकांक्षीहरु आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक दौड धुपमा व्यस्त छन्।

यसै क्रममा संघको आगामी कार्यकालको युवा उपाध्यक्ष पदमा युवा व्यवसायी स्वतन्त्र प्रताप शाहको पनि चर्चा सुरु भएको छ। युवा उपाध्यक्ष पदमा भिड्ने तयारीमा जुटेको भन्ने सूचनाका आधारमा उनीसँग प्रवास खबरले पनि सोधेको थियो । ‘अहिले नै चुनावको कुरा नगर्दा उचित हुन्थ्यो,’ प्रवास खबरले राखेको जिज्ञासाको जवाफ दिँदै शाह भन्छन्, ‘एनआरएनए अभियानबाट टाढा रहने त कुरा भएन । युवाहरुको लागि काम गर्ने मेरो सपना नै हो ।’ यो प्रतिक्रियाबाट पनि शाहले युवा उपाध्यक्षको नेतृत्व गर्न चाहेको प्रष्टसँग बुझ्न सकिन्छ।

विगत लामो समयदेखि अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका शाह अनुभवी र सम्भावना बोकेका एनआरएनए अभियन्ता मानिन्छन्। उनले नेपालमा पनि व्यवसाय गर्दै आएका छन्।

त्यसो त शाह संघको आठौँ र नवौँ विश्व सम्मेलनमा पनि युवा संयोजक पदकाे लागि प्रतिस्पर्धामा होमिएका थिए। तर, जीत भने आफ्नो पोल्टामा पार्न सकेनन्।

सुरुदेखि नै युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेण्डा भएको बताउँदै आएका शाह यसअघिका हारलाई उल्टाएर यसपालि युवाको नेतृत्व सम्हाल्न अहिलेदेखि नै व्यापक तयारीसहित लागेको उनी निकटका व्यक्तिहरु बताउँछन्।

‘उहाँ (शाह) युवा नेतृत्वको लागि एक सक्षम व्यक्ति हुनुहुन्छ। अघिल्ला हारको कारण पनि उहाँले राम्रोसँग बुझ्नु भएको छ,’ उनी निकट एक युवाले प्रवास खबरसँग भने, ‘यसपाली युवा नेतृत्वमा उहाँको विकल्पै छैन।’ ती युवाले शाहकोे पक्षमा बहुमत रहेको दावी पनि गरे।

एनआरएनएमा यसअघि युवा उपाध्यक्ष रहने प्रावधान थिएन। तर, संघले विधान संसोधन गर्दै आगामी कार्यकालबाट युवा र महिला उपाध्यक्ष पनि रहने व्यवस्था गरेको छ।