‘एनआरएन डेभलपमेन्ट फन्ड’ को आइपीओ जारी हुँदै

 ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को आइपीओ जारी हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले स्थापना गर्न लागेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’को प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन् ।

१० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको उपाध्यक्ष डा.बद्री केसीले जानकारी दिए।

डा.केसीका अनुसार थप संस्थापकको १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ । बाँकी रकम विदेशमा आइपिओ जारी गरेर संकलन गर्ने तयारी छ । ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन् ।

यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण तयार गर्नसक्ने संघका अध्यक्ष कुमार पन्तको विश्वास छ।

स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियानअन्तर्गतको यो योजनाले लामो प्रयासपछि मूर्तरूप प्राप्त गरेको अध्यक्ष कुमार पन्तले बताए।

नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको पन्तको भनाइ थियो।

दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने उनले बताए ।