आईपीएलमा डिजिटल भ्यूअरसिपको नयाँ किर्तिमान 

आईपीएलमा डिजिटल भ्यूअरसिपको नयाँ किर्तिमान 

काठमाडौँ । शुक्रबार देखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल) को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ।

शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ।

यस आइपिएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९.४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए।

अहिलेसम्म, यति धेरै मानिसहरूले ओटीटीमा कुनै पनि क्रिकेट खेल लाइभ हेरेका थिएनन्।

यसअघि यो कीर्तिमान शनिबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको नाममा थियो, जसलाई जियो सिनेमामा करिब १६.७ करोड मानिसले हेरेका थिए।

यसअघि शुक्रबार आईपीएल २०२४ को उद्घाटन खेल १३।३ करोड मानिसले हेरेका थिए।

आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकार २.९ बिलियन डलरमा अधिग्रहण गरिएको थियो। जियो सिनेमा एप २०२३ सिजन देखि आइपिएलको आधिकारिक स्ट्रिमिङ पार्टनर हो।

रिलायन्सको भायकम १८ ले २०२३ देखि २०२७ सम्म करिब २.९ बिलियन डलर (२३ हजार ९१७ करोड भारु) मा आइपिएलको डिजिटल स्ट्रिमिङ अधिकारहरू प्राप्त गरेको थियो।

जियो सिनेमाले आफ्नो एपमा दर्शकहरुलाई भारत भित्र नि: शुल्क आइपिएल खेल देखाइरहेको छ।

ओटीटी प्लेटफर्ममा लाइभ क्रिकेट खेल हेर्ने किर्तिमानको कुरा गर्दा यस सिजनको आइपिएलका तीन खेल शिर्ष तीन स्थानमा रहेका छन्।

त्यस्तै चौथो स्थानमा २०२३ को एकदिवसीय विश्वकप अन्तर्गतको भारत र न्यूजील्याण्डबीचको सेमिफाइनल खेल ५.२ करोडले डिज्नी प्लस हटस्टारमा लाइभ हेरेका थिए।

त्यस्तै सोहि विश्वकपको भारत दक्षिण अफ्रिकाबीचको खेल ४‍‍.४ करोडले हेरेका थिए।