एनआरएनए नेतृत्वमा बद्री केसीका ३ महिना : ७ करोडको परोपकारी काम

एनआरएनए नेतृत्वमा बद्री केसीका ३ महिना : ७ करोडको परोपकारी काम

काठमाडौं। विदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिले तीन महिना पूरा गरेको छ।

गत अक्टोबरमा सम्पन्न एघारौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नेतृत्व नेतृत्व सम्हालेको शनिबार ९० दिन पूरा भएको हो।

एनआरएनएको इतिहासमै पहिलोपटक अनलाइनमार्फत् ५९ देशका ४२ सय बढी प्रतिनिधिले मतदान गर्दा नेतृत्वमा डा. बद्री केसीले बाजी मारेका थिए।

बितेको ३ महिनामा भएका कामहरुबारे संघले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलनमा संघका प्रवक्ता फणिन्द्र पन्तले नयाँ कार्यसमितिले काम थाल्न नपाउँदै आएका तमाम अड्चन र चुनौतीकाबीच ३ महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरु भएको बताए।

गत नोभेम्बरको पहिलो साता ठूलो जनधनको क्षति हुने गरी गएको भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा संघले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्राहरूलाई ‘न्यानो कपडा’ वितरण गर्नुका साथै एनसीसीहरूबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रुयैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरिएको संघले जनाएको छ।

संघले भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण लगायत दीर्घकालीन सहयोगका लागि स्थानीय सरकारहरूसँग समन्वय गरेर काम गरिरहेको पनि संघले जनाएको छ।


संघले यसअघि घोषणा गरेबमोजिम यसै साता कोशी प्रदेशको धरानमा, मधेश प्रदेशको जनकपुरमा गैरआवासीय नेपालीहरूको सहयोगमा संकलित रकमबाट ७० लाख रुपैयाँ पर्ने एक–एकवटा मोबाइल ब्लड बस हस्तान्तरण गरेको थियो। २६ जनवरीमा लुम्बिनी प्रदेशमा अर्को मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरिएको संघले जनाएको छ।

यसैगरी, नेपाली राष्ट्रिय खेलाडीहरूको मनोबल उच्च राख्न र खेल विकासको लागि आवश्यक सहयोग गरेको पनि संघले बताएको छ।

टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् हैसलास्वरूप १० लाख रुपैयाँ, नेपाली भलिबल राष्ट्रिय टिमको लागि ८ लाख रुपैयाँ, छैटौँ एनआरएनए सुदूर पश्चिम फुटबल प्रतियोगिताको सहयोगार्थ २ लाख ५० हजार रुपैयाँ, पोखरा म्याराथनका लागि ७ लाख ५० हजार रुपैयाँ, एनआरएनए इलाम गोल्ड कपको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरिएको संघले जनाएको छ।

यस्तै, धनगढीको सेती प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँ, कञ्चनपुर जिल्लाको महाकाली प्रादेशिक अस्पतालमा १ करोड २५ लाख रुपैयाँको अक्सिजन प्लान्ट स्थापना गर्ने कामले पूर्णता पाइसकेको संघले जानकारी दिएको छ।

त्यसैगरी, संघले वैदेशिक रोजगारीको क्रममा कंगोमा ज्यान गुमाएका डोटी स्थायीका सुरेश सिल्लाको परिवारको सहयोगार्थ एनआरएनए कंगोको सक्रियतामा संकलित २६ लाख ६१ हजार रुपैयाँ उनको परिवारलाई राहतस्वरुप हस्तान्तरण समेत गरेको छ।

यस्तै, कञ्चनपुरको झलारीस्थित कृष्ण वैजनाथ बहुमुखी कलेजका छात्राहरूको शौचालय निर्माणको लागि २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। सडक बालबालिकाको शिक्षा तथा बसोवासको सहयोगार्थ युसेफ नेपाल, भक्तपुरमार्फत् ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको पनि संघले जनाएको छ।

गैरआवासीय नेपाली नागरिकता, वैदेशिक रोजगार, सामाजिक सुरक्षा, १० अर्ब लगानीलगायतका विषयमा सरोकारवाला सरकारी निकाय र मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी संघले गरेको छ।

संघले सञ्चालन गरेका मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय काममा विगत ९० दिनमा मात्र करिब ६ करोड ६५ लाख ९१ रुपैयाँ बारबारको आर्थिक सहयोग गरिएको बताइएको छ।

अगामी दिनमा कोशी प्रदेश लगानी प्राधिकरणसँग सहकार्यमा चियाको प्रवर्धन र प्राविधिक शिक्षामा संघले सहकार्य गर्दै अघि बढ्ने योजना रहेको संघले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न विदेशमा रहेको नेपाली समुदायलाई गैरआवासीय नेपाली संघ आह्वान समेत गरेको छ।

आगामी कार्यक्रमहरू तय गर्न संघको पूर्ण बैठक २१ र २२ जनवरीमा काठमाडौंस्थित चन्द्रागिरिमा बस्दैछ।