क्यान र एनआरएनएबीच सहकार्य

क्यान र एनआरएनएबीच सहकार्य

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल क्रिकेट संघ (क्यान)लाई १० लाख रूपैयाँ सहयोग गरेको छ।

शनिबार संघका अध्यक्ष डा. बद्री केसीसहितका पदाधिकारीले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरूको सहयोगको लागि क्यानमार्फत् हौसलास्वरूप १० लाख रुपैयाँ प्रदान गरेका हुन्।

समारोहमा संघले टी-२० विश्वकप-२०२४ क्रिकेट प्रतियोगितामा छनोट भएकोमा बधाई ज्ञापन गर्दै क्यानका पदाधिकारीलाई सम्मान पनि गरेको छ।

संघका सचिव पारसमणी पोखरेलले क्यानका सचिव खड्कालाई टोकन अफ लभ दिएका थिए।

क्यानका सचिव पारस खड्का, व्यवस्थापक एवं पूर्वकप्तान विनोद दास, कार्यकारी सदस्य सुदीप शर्मालगायत क्यान पदाधिकारी कार्यक्रममा उपस्थित थिए।

कार्यक्रममा क्यानका सचिव एवं पूर्वकप्तान पारस खड्काले नेपाली क्रिकेटमा गैरआवासीय नेपालीको साथको आवश्यकता रहेको बताए नेपाल विश्वकपमा छनोट भइसकेपछि धेरैले क्यानसँग जोडिन खोजेको र यो कुरालाई एनआरएनले बलियो बनाइदिएको खड्काको भनाइ थियो।

‘यो सहकार्यले विदेशमा हुर्किरहेको नयाँ पुस्ताले नेपालको प्रतिनिधित्व गर्नेछ,’ खड्काले भने, ‘क्रिकेटका गतिविधिहरूमा साझेदारी बलियो बनाउन विश्वभरका नेपालीलाई जोड्न जरुरी छ।’

अब राष्ट्रिय क्रिकेट मात्र होइन, जिल्ला र स्थानीय संरचनालाई पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो। क्रिकेटले देश, खेलाडीका साथै पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको उनले बताए ।

‘यो खेललाई कसरी स्थापित गर्ने भन्नेमा सबैको ध्यान होस्। एनआरएनएको सहकार्यबाट राम्रो नतिजा निकाल्न सक्छौं। यो सहकार्यलाई अर्को चरणमा लैजान क्यानले पनि बोर्ड बैठकबाट छलफल चलाउनेछ। नेपाललाई टेस्ट राष्ट्र बनाउन सबैको सहयोग आवश्यक छ। अबको १० वर्षमा टेस्ट राष्ट्र बनाउने भनेर मात्र हुँदैन। सबैको हातेमालो आवश्यक छ,’ उनले भने।

संसारभर बस्ने नेपालीको सहयोग आउने च्यानल बनाउन क्यान तयार रहेको र ट्रस्ट बनाएर जान सकिने भन्दै उनले यसबाट घरेलु क्रिकेटको विकास हुने बताए। महिला क्रिकेट पनि क्यानको प्राथमिकतामा रहेको जानकारी पनि उनले दिए।

संघका युवा उपाध्यक्ष एवं खेलकुद प्रतिष्ठानका स‌योजक रोशन थापाले विदेशमा रहेका ७० लाखभन्दा बढी नेपालीको मन क्रिकेटमा हुने र नेपालले जितेमा खुसी हुने बताए।

‘नेपालको प्रतिनिधत्व गरेर जाँदा नेपालले अन्य राष्ट्रलाई जित्यो भन्दा गर्वले छाति फुल्छ,’ उनको भनाइ थियो।

अध्यक्ष केसीले नेपाललाई चिनाउने क्यानसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए।

‘खेलकुद विश्वमा औषधि हो । खेलकुदमा लगानी ठूलो लगानी हो। नेपालमा खेलाडी बन्ने रहर भएका खेलाडी जबर्जस्ती खेलाडी बनेर आफै व्यवस्थापन गर्नुपर्ने विडम्बना छ। यति हुँदा पनि विश्वकपमा जानुभएकोमा बधाई छ । ७० लाख नेपाली एकजुट हुने हो भने सस्टिनेबल पूर्वाधार बनाउन सक्छौं। हाम्रो हरेक खालको सहयोग रहन्छ,’ उनले भने ।