युरोप पठाइदिन्छु भन्दै लाखौं ठगी

युरोप पठाइदिन्छु भन्दै लाखौं ठगी

काठमाडौं। वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका छन्।

काठमाडौं बुढानीलकण्ठ घर भएकी बेन्जु महतले अमर बहादुर पुनलाई अमेरिकामा प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु भन्दै २३ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी थिइन्।

उनलाई पुस २४ गते बुढानीलकण्ठबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै, नवलपरासी बर्दघाट नगरपालिका–१५ घर भएका महेश तामाङले वैदेशिक रोजगारीमा टर्की पठाइदिन्छु रमेश थापासहित ३ जनाबाट ५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए।

उनलाई पनि पुस २४ गते नवलपरासी (पूर्व) देवचुलीबाट पक्राउ गरिएको रेग्मीको भनाइ छ।

यता धनकुटा घर भई हाल काठमाडौं बस्दै आएकी उर्मिला चेम्जोङले संगत थापासहित २ जनालाई पोर्चुगलको प्रतिष्ठित कम्पनीमा ड्राइभिङको काम लगाइदिन्छु भन्दै १० लाख ५० रुपैयाँ रकम लिएर फरार भएकी थिइन्।

उनलाई कीर्तिपुरबाट पुस २५ गते पक्राउ गरिएको थियो। तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको उपरीक्षक रेग्मीले जानकारी दिए।