जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी कुवेतबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी कुवेतबाट पक्राउ फाइल तस्वीर

काठमाडौं। जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई कुवेतमा पक्राउ गरेर नेपाल ल्याइएको छ।

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलान्चोक चौरीदेउराली गाँउपालिका–८ का ३१ वर्षीय उमेश लामालाई कुवेतबाट पक्राउ गरेर नेपाल ल्याइएको हो।

इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परेका उनलाई मंगलबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

लामाविरुद्ध प्रहरी वृत्त जगाती भक्तपुरमा जबरजस्ती करणी मुद्दामा मुद्दा दर्ता भएको थियो। अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुलेको थियो।

अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट ११ असोजमा उनी विरुद्ध रेड नोटिस जारी भएको थियो।