स्वदेशमै इन्जिनियरिङ पढ्न विद्यार्थीहरूको रूची घटेको हो?

स्वदेशमै इन्जिनियरिङ पढ्न विद्यार्थीहरूको रूची घटेको हो?
काठमाडौं। कुनै बेला इन्जिनियरिङ पढ्न २० हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिन्थे। प्रवेश परीक्षा दिने यी विद्यार्थीहरूमध्ये मुस्किलले ४ हजारले भर्ना पाउँथे।

यो धेरै अघिको तथ्यांक होइन। चार–पाँच वर्षअघिसम्म त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरूले नामाङ्कन पाउनु कठिन ठानिन्थ्यो।

यतिबेला परिस्थिति फेरिएको छ। प्रवेश परीक्षामा उतीर्ण भएर पनि विद्यार्थीहरूले हालसम्म नामाङ्कन गरेका छैनन्।

गत असोजमा इन्जिनियरिङ अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा ठूलै संख्यामा विद्यार्थीहरू सहभागी भए।

पूर्ण छात्रवृत्ति र आंशिक छात्रवृत्तिका लागि नाम निकाल्न धेरै विद्यार्थी सफल पनि भए। तर, उनीहरूले हालसम्म नामाङ्कन गराएका छैनन्।

प्रवेश परीक्षा उतीर्ण गरेका विद्यार्थीहरूले भर्ना नगराउँदा चारवटा इन्जिनियरिङ कलेजमा शून्य विद्यार्थी हुने देखिएको छ।

त्रिविअन्तर्गतका इन्जिनियरिङ अध्ययन संस्थानमा पढाइ हुने इन्जिनियरिङका विभिन्न विधामा सिट संख्याभन्दा न्यून विद्यार्थी भर्ना भएका छन्।

संस्थानका पाँच आङ्गिक र १० सम्बन्धप्राप्त कलेजमा विद्यार्थी अभाव भएको हो।

मुलुकमै उत्कृष्ट मानिएको र विद्यार्थीहरूको विश्वास जितेको त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका विभिन्न विषयमा यतिखेर कलेजहरूले विद्यार्थी पाउन सकेका छैनन्।

देशकै उत्कृष्ट पुल्चोक इन्जिनियरिङ कलेजमा सिभिल, एरोस्पेस, केमिकल, आर्किटेक्चर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्र्फमेसन, मेकानिकल, इलेक्ट्रिकल, कम्प्युटर र सिभिल विषय अध्यायन हुने गरेको छ।

यी संकायहरूका लागि कुल ६२४ सिट रहेकोमा दोस्रोपटकसम्मको सूचना प्रकाशित गरी भर्नाको माग गर्दा समेत ११६ सिट खाली छन्।

यसैगरी आंगिक कलेजहरू थापाथली क्याम्पसमा कुल सिट संख्या ४३२ मध्ये २३४ र पश्चिमाञ्चल क्याम्पस पोखरामा ४३२ सिटमध्ये १८४ खाली रहेका छन्।

पूर्वाञ्चल क्याम्पस धरानमा इन्जिनियरिङका विभिन्न विषयमा ५२८ सिट रहेकोमा २१५ सिटमा विद्यार्थी नै आएका छैनन्।

त्यस्तै अर्को आंङ्गिक कलेज चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा कुल सिट संख्या २४ छ। यो कलेजले आर्किटेक्चर विषयमात्र अध्यापन गराउँदै आएको छ। तर, अझै ७ विद्यार्थी अपुग छ।

इन्जिनियरिङ कलेजहरूमा विद्यार्थी नआउनुपछाडि सरोकारवालाहरूले सरकारको गलत नीतिलाई दोष दिएका छन्।

कतिपयले संस्थानअन्तर्गतका कलेजहरूमा पढाइभन्दा बढी राजनीति हुने गरेकाले इन्जिनियरिङ अध्ययनका लागि आकर्षण घट्दै गएको बताउँछन्।

पछिल्लो समय स्नातक गरेर स्नातकोत्तर गर्न विदेश जानुभन्दा कक्षा १२ उतीर्ण भएर स्नातकका लागि विदेश जानेको संख्या बढेकाले पनि विद्यार्थीहरूको अभाव देखिन थालिएको हो।

स्वदेशमा अवसरको कमीका कारण पनि विद्यार्थीले नेपालमा पढ्ने कम रूची दखाएका छन्।